व्यवसायी र गण्डकी सरकारको संयुक्त पहलमा पर्यटन उकास्ने निर्णय हुनुलाई स्वागतयोग्य कदम मान्नुपर्छ । सन् २०२५ मा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएपछि पर्यटन व्यवसायी, व्यापारी, सरोकारवाला, सर्वसाधारण सबै खुसी देखिएका छन् ।
दशकौंदेखि पोखराका साथै गण्डकी प्रदेशका कतिपय ठाउँ पर्यटकका निम्ति आकर्षक गन्तव्य बन्दै आएको यथार्थबाट हामी अनभिज्ञ छैनौं । यद्यपि घुम्न आउनेमध्ये झन्डै ९० प्रतिशत पोखरामा केन्द्रित रहने गर्छन् । विश्वले नेपालका अधिकांश भागलाई भ्रमणयोग्य मान्दै आए पनि मानसिक दरिद्रताले ग्रसित बनेका हामी स्थान विशेषलाई मात्र महत्त्व दिँदै आएका छौं । प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृतिलगायत क्षेत्रमा दुर्गम हिमाली र पहाडी जिल्लाहरू अद्वितीय छन् भन्ने कुरा न हामीले बुझ्यौं, न विदेशीलाई बुझाउन सक्यौं । यी विविध कुराको प्रचारप्रसार गरी मुलुकलाई पर्यटनमय बनाउने विषयमा सत्ताधारी एवं सरोकारवालाहरूको ध्यान नपुग्नुलाई विडम्बना मान्नुपर्छ । लाखौं पर्यटकलाई भित्र्याउने पोखराको लक्ष्यले धेरैको चासो बढाए पनि अन्य प्रदेशका लागि यो विषय ‘आयाराम गयाराम’ जस्तो बनेको छ । केन्द्रदेखि गाउँसम्मको सरकार युवालाई विदेश धकेल्नमै तल्लीन छ, विदेशी मुलुकसँग श्रम सम्झौता गरी परनिर्भरताको राजमार्ग फराकिलो बनाउने अभियानमा जुटेको छ । कोभिडले थला पारेर उठेपछि यतिबेला विश्वका धनी, गरिब सबै मुलुकले पर्यटन प्रवर्द्धनलाई विशेष महत्त्व दिइरहँदा हाम्रो नेतृत्व भने निद्राबाट ब्युँझेको पाइंँंदैन । तथापि स्थान विशेषको पहिचान बढाउने काममा जागरुकता बढेको चाहिँ देख्न सकिन्छ । पूर्वको कर्णाली भनेर चिनिँदै आएको खोटाङ होस् या गरिबीले थलिएको पश्चिमको बाजुरा नै किन नहोस्, यतिबेला तत्तत् जिल्लामा अवस्थित मनोरम गाउँ एवं प्राकृतिक दृश्यहरूको प्रचारप्रसार सञ्चारमाध्यमहरूमा देख्न थालिएको छ । जनस्तरबाट भएको यस्तो प्रयासलाई जनजागरणको प्रारूप नभनिरहन सकिँदैन । पिछडिएका यस्ता जिल्लाको पहिचान बढाउने प्रयासबाट घुमफिर गर्न रुचाउनेहरूको संख्या क्रमिक रूपमा बढ्ने विश्वास लिन सकिन्छ । विश्वमा जति पनि चर्चित पर्यटकीय गन्तव्य छन्, विज्ञापनकै आडबाट तिनीहरूको प्रसिद्धि बढेको हो । गण्डकीझै अरू प्रादेशिक सरकारले पर्यटन प्रवर्द्धनलाई जोड दिने हो भने छोटो समयमा पर्यटकको चाप सबैतिर बढ्ने कुरा निर्विवाद छ ।
– भुवनेश्वर शर्मा, बोस्टन, अमेरिका
