शेखरलाई सुजाताको समर्थनको अर्थ

माघ ३०, २०८१

पाठक पत्र

Meaning of Sujata's support to Shekhar

सोमबार एक सार्वजनिक समारोहमा कांग्रेस नेता सुजाता कोइरालाले कांग्रेसको भावी सभापति र प्रधानमन्त्रीमा शेखर कोइराला उपयुक्त पात्र भएको बताइन् ।

आफ्नो सम्पूर्ण समर्थन शेखरलाई रहने उनको उद्घोषपछि कांग्रेस वृत्तमा तरंग छाएको छ । यसले कोइराला परिवारभित्रकै अर्का सदस्य शशांक कोइरालालाई भने ठूलै झट्का लागेको हुनुपर्छ । शशांकले आउने महाधिवेशनमा सुजातालगायत सभापति शेरबहादुर देउवाले आफूलाई मात्र समर्थन गर्नेछन् भन्ने भ्रम पालेर बसेका छन् । त्यही भएर उनले गएको महाधिवेशनमा शेखरको सट्टा देउवालाई भित्री रूपमा सहयोग गरेका थिए । शशांक मात्र होइन सुजातासमेत देउवालाई सघाउन पुगेकी थिइन् ।

सुजाताको समर्थन शेखरलाई भए पनि यसले तात्त्विक फरक पर्ने देखिन्न । किनकि महाधिवेशन प्रतिनिधिहरू उनको पकडमा खास छैनन् । तथापि तीन कोइरालामध्ये दुई कोइराला एकातिर हुँदा शशांकभन्दा शेखर वजनदार भने पक्कै बन्न पुगेका छन् । जसले गर्दा भावी सभापतिका लागि भित्रभित्रै महत्त्वाकांक्षा बोकिरहेका गगन थापा, पूर्णबहादुर खड्काहरूलाई चुनौती दिने देखिन्छ । गगन पनि देउवाको साथ पाइएला कि भनेर हिजोआज देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत खुसी पार्न लागेका छन् । त्यही भएर हुनुपर्छ सरकार सञ्चालनको संयन्त्रमा बस्ने, अध्यादेशको समर्थन गर्ने, भाटभटेनीबाट ओलीले लिएको अवैध दानको विरोध नगर्ने प्रवृत्ति उनमा पछिल्लो समय देखिएको छ । जबकि अर्का महामन्त्री विश्वप्रकाश शर्माले उक्त दानको खुलेर विरोध गरेका थिए । यसर्थ आउँदो महाधिवेशनमा शेखरले विश्वप्रकाशलाई महामन्त्रीका रूपमा आफ्नो गुटमा राखी चुनाव लडेमा शेखर नै भावी सभापति बन्ने बलियो आधार तयार हुने अड्कल हुन थालेको छ ।

लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसले लोकतन्त्रको मर्मविपरीतका कुरामा समेत ओलीका हरेक कदमलाई समर्थन गरिरहेको छ । जसका पछाडि देउवाको सत्ता स्वार्थ र कुर्सी मोहबाहेक अरू केही छैन । देउवालाई ओली रिसाएमा आफू पुनः प्रधानमन्त्री हुन नसकुँला कि भन्ने भय छ । त्यो स्वार्थका अगाडि ओलीले लोकतन्त्रको जतिसुकै हुर्मत लिए पनि उनी मौन छन् । आवरणमा देउवा लोकतन्त्रको कुरा निकै गर्छन् तर आफ्नै सहयोगले बनेको सरकारले संसद्लाई बन्धक बनाएर जतिसुकै अलोकतान्त्रिक काम गरे पनि मौन समर्थन गरिरहन्छन् । अध्यादेश ल्याउँदा देउवाले कांग्रेसको विषयगत विभागमा कुनै छलफल नगरेको शेखरले कान्तिपुरको अन्तर्वार्तामै बताइसकेका छन् । यस्त विविध कारण देउवा त बदनाम भएकै छन्, गगन–विश्वप्रकाश जस्ता आसलाग्दा युवा नेताको लोकतान्त्रिक चरित्रमा प्रश्न उठाइदिएको छ ।

गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

पाठक पत्र

Link copied successfully