प्रधानमन्त्रीको सस्तो लोकप्रियता

माघ २९, २०८१

पाठक पत्र

Prime Minister cheap popularity

विश्वका नेता आफ्नो देशको उन्नति, नवप्रवर्तन र आर्थिक समृद्धिको बाटो खोजिरहेका छन् । जर्मनी ऊर्जामा आत्मनिर्भर हुने योजनामा छ, जापानले प्रविधिमा क्रान्ति गरिरहेको छ, भारत आर्थिक समृद्धितर्फ लम्किरहेको छ ।

अनि हाम्रा देशका प्रधानमन्त्री ? सस्तो चर्चाका लागि सामाजिक सञ्जालमा छाएका ‘भाइरल’ व्यक्तिका अगाडि क्यामरा सजाउँदै छन् । जनताले रगत–पसिना बगाएर तिरेको करको पैसाले देश विकास गर्नुको साटो प्रधानमन्त्रीको प्राथमिकता के छ ?

देशले आधारभूत पूर्वाधारको अभाव भोगिरहँदा, बेरोजगारी चरमचुलीमा पुग्दा, मुलुकका युवा पेट पाल्न मरुभूमिमा पसिना बगाउँदै गर्दा प्रधानमन्त्रीलाई ती समस्याको कुनै चासो छैन । उहाँलाई संसद् छल्न आउँछ, मिडिया म्यानेज गर्न आउँछ, आलोचना दबाउन आउँछ, तर नीति निर्माण गर्न, देशको दिगो भविष्य सोच्न, प्रभावकारी योजना कार्यान्वयन गर्न आउँदैन । प्रधानमन्त्री भनेको देश हाँक्ने व्यक्ति हो । देशको जिम्मेवारी बोकेको व्यक्तिले ‘पब्लिसिटी स्टन्ट’ गर्नु जरुरी छैन । जनताको चुलो बलिरहेको छैन, मुलुकको अर्थतन्त्र ओरालो लागेको छ, विदेशिएका युवाले सपना चकनाचुर बनाउँदै आत्महत्या गरिरहेका छन्, अनि मुलुक हाँक्ने जिम्मेवार व्यक्तिको प्राथमिकता अर्कै छ । हामीलाई मनोरञ्जन खोज्ने नेता होइन गम्भीर, जिम्मेवार र दृढ संकल्प भएको प्रधानमन्त्री चाहिन्छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully