कहिले कांग्रेस त कहिले एमालेलाई फस्ल्याङ फुस्लुङ पारेर यस संसदीय कार्यकालको पूरै समय आफैंले सत्तामा रजगज गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको सपना अन्ततः उनै कांग्रेस र एमाले मिलेर गत असार ३१ गते तुहाइदिए ।
सत्ताच्युत भएपछि रन्थनिएका उनलाई अझै सत्ताको डोको कुनै न कुनै तवरले आफ्नै थाप्लोमा आइहाल्छ कि वा कुनै किसिमले आफैंले पो थाप्लोमा पार्न सकिन्छ कि भन्ने झिनो आसले छोडेको छैन । उनी विभिन्न कार्यक्रम वा संसद्मा माओवादी अहिले सत्ताको खेलमा नरहेको र बरु आफूलाई सत्ताबाट हटाएर जनताको माझमा जाने अवसर दिएकामा कांग्रेस–एमालेलाई धन्यवाद दिने गर्छन् । सत्ताको खेलमा माओवादी नरहेको भन्दै अभिव्यक्ति दिने दाहालले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, असंवैधानिक भएकाले यो गठबन्धनको आयु लामो नभएको भन्न पनि छुटाउँदैनन् । यसरी दोहोरो अभिव्यक्ति दिँदै आएका उनलाई आगामी निर्वाचनपछि आफू र आफ्नो दलको हैसियत के हुने भन्ने चिन्ता पनि हुन सक्छ । त्यसैले अहिले संसद्मा तेस्रो स्थानमा रहेकै बेलामा र उनकै भनाइमा जादुको नम्बर ३२ रहेकै अवस्थामा आफूलाई फेरि सत्तामा पुर्याउन प्रयन्त गरिरहेकै छन् भन्ने बुझिन्छ ।
कांग्रेस र एमालेसँग चिढिएका दाहालले यी दुई दलमध्ये कुनै एकको सहयोगबिनै सत्ताको चाबी हात पार्ने सम्भावना देखिँदैन । जादुको नम्बरले फेरि च्याँखे दाउ आफ्नो पक्षमा पार्दियो भने कांग्रेस–एमालेको गठबन्धन टुटाउन सकिएको खण्डमा दुई दलको मात्र संख्याले सत्ताको भर्याङ उक्लन सकिने छैन । त्यसैले दाहालले संसद्को चौथो दल रास्वपालाई पनि निकै दयालु व्यवहार गरिरहेका छन् । परिस्थितिले हिजोको ठाउँमा फर्कायो भने पुनः रास्वपाको साथ सहयोग चाहिने देखेर उसलाई चिढ्याउनभन्दा पनि निकै सद्भाव देखाउँदै आइरहेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेका पक्षमा दाहाल आफैं न्यायाधीश जस्तो बनेर सफाइ दिँदै आइरहेका मात्र छैनन्, न्यायालयलाई सरकारले प्रभाव पारेर रविमाथि अन्याय गरेको आरोपसमेत लगाउँदै आइरहेका छन् । रविमाथि उनले जुन सदाशयता प्रकट गर्दै आइरहेका छन्, त्यसमा उनको स्वार्थबाहेक अरू केही लुकेको छैन ।
परिस्थितिलाई आफ्नो पक्षमा पार्न खप्पिस दाहालले अहिले रास्वपाको पक्षमा सकारात्मक अभिव्यक्ति दिँदा भोलि कुनै परिस्थितिले सडकमा आउनुपर्ने अवस्था आए त्यसमा जनउपस्थितिलाई व्यापक पार्न सकिन्छ भन्ने सोच पनि हुन सक्छ । आफ्नो स्वार्थका लागि हिजो कसले के गरेको थियो भन्ने कुरालाई चटक्कै बिर्सने बानी भएका उनले आफ्नो पक्षमा माहोल सिर्जना गर्नकै लागि भए पनि राजनीतिक विचार, सिद्धान्त नमिल्ने दलसँग टाउको जोड्ने गरेको देखिएकै हो । अहिलेको संसद्मा चौथो दलका रूपमा स्थापित रास्वपासँग पनि कुनै सिद्धान्त मिल्न गएको देखिँदैन, उनी केवल व्यक्तिगत स्वार्थका लागि रास्वपा र लामिछानेको पक्षमा उभिएका हुन् ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
