अहिलेको डिजिटल युगमा एआईको कमाल हेरिनसक्नुको छ । कतै हाम्रो रोजगारी त डुब्ने होइन भनेर मानिसमा चिन्ता पर्न थालिसकेको छ ।
संसार कहाँ पुग्यो, हामी नेपाली भने ‘ब्रान्ड’ राजनीतिमा अल्झेर समय खेर फालिरहेका छौं । हरेक दशकमा नेपालीलाई एउटा न एउटा ब्रान्ड राजनीतिको नशा लागिराखेको छ । तर युवा वर्गसमेतले कसुरदार नेतामाथि बेकसुरदारको धावा बोल्दै सामाजिक सञ्जाल फोहोर पारिरहेका छन् । यो अवस्था देख्दा सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकको औचित्यता ठिकै त होइन भन्ने लाग्छ । शासकीय सत्ताका लागि हाम्रा नेता प्रभुको शरणमा पर्न तयार हुन्छन् । उनीहरूमा नैतिकताको अभाव छ । भ्रष्टाचारमा सातपुस्तेको चिन्तन छ । आर्थिक रूपमा परनिर्भरता, पुरानै राजनीतिक संस्कार, सामाजिक विभेद, जातीय द्वन्द्वको गन्ध, धार्मिक असहिष्णुता, रोजगारीको सम्भावनाप्रति नेतृत्वको बेवास्ता चरम समस्या हुन् । जल, जमिन, जंगल, जडीबुटी, जनावर आदिको सदुपयोग गर्न नसक्नु नै देश पछि पर्नुका प्रमुख केही कारण हुन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ अगस्ट ६–९ मा जब अमेरिकाले जापानको हिरोसिमा तथा नागासाकीमा परमाणु एटम बम खसाल्यो, जापान तहसनहस भयो । त्यस्तो जर्जर अवस्थाबाट गुज्रिएको जापान आज कहाँ छ ? हामी भने अझै कता हराइरहेका छौं ? राजनीतिमा ‘सेलिब्रिटी’ बन्न चाहने र भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्ने हाम्रा नेताको प्रवृत्ति नसुध्रिएसम्म देशको अवस्था सुध्रिनेवाला छैन । हाम्रोजस्तो गरिब देशका जनता विशेषगरी युवा वर्ग विदेश जान बाध्य छन् । स्वदेशमा भएका युवामा समेत भ्रष्टाचारविरोधी आन्दोलनबारे बहस छैन । समाज, राजनीतिको भविष्यबारे चिन्ता छैन । उल्टो सामाजिक सञ्जालमा सस्ता कुरा लेखेर आफ्नो अमूल्य समय गुमाइरहेका छन् । अब कसले लिने त देशको चिन्ता ?
– खिमराज गिरी, काठमाडौं
