सरकारी सम्पत्तिको दुरुपयोग कसले रोक्ने ?

माघ २५, २०८१

पाठक पत्र

Who will stop the abuse of government property?

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमै उत्पादित ‘मुस्ताङ म्याक्स’ गाडी चढेका थिए । उनका मन्त्रीहरूले भने डेढ–दुई करोडको गाडी प्रयोग गरे ।

आखिर प्रधानमन्त्रीले मात्रै ‘मुस्ताङ म्याक्स’ गाडी चढ्नुको अर्थ के रह्यो र ? मन्त्रीहरूले आफ्नो कर्तव्यभन्दा पनि सरकारी सम्पत्ति दोहन गरिरहेका छन् भन्ने त्यो एक उदाहरण हो । तत्कालीन अवस्थामा प्रधानमन्त्री भट्टराईले नीति नै बनाएर संसद्बाट पास गराउनुपर्थ्यो– सरकारी सम्पत्तिको दुरुपयोग गर्न पाइँदैन भनेर । अब त यो नीति पास गर्न कसैले दिँदैन, किनकि सबैले जनताको करबाट मस्ती गर्दै आएका छन् । सबभन्दा दुःखद् कुरा त मन्त्रीहरू विवाह, व्रतबन्ध वा कतै भोजमा जाँदा झन्डावाला गाडी, सुरक्षाकर्मी अघिपछि लगाएर जान्छन्, यो सरासर गलत हो । मन्त्रीको गाडी लिएर सार्वजनिक काममा जान मिल्छ ? मन्त्री मात्र होइन सरकारी ओहदामा रहेका सबैले सरकारी सम्पत्तिको यसरी नै दुरुपयोग गरिरहेका छन् ।

गणतन्त्र नेपालमा जनतालाई बाटोमा घण्टौ जाम गराएर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू साइरन बजाएर हिँडेको देख्दा अचम्म लाग्छ । देशमा गणतन्त्र आएर मात्र भएन, नेताको सोचमा गणतन्त्र आउनुपर्‍यो । वर्तमान अवस्थामा नेताका लागि मात्र परिवर्तन आयो भन्ने देखिन्छ । नेता र जनता सँगै हुनुपर्ने होइन र ? किन नेता र जनताबीचको दूरी बढ्दो छ ? हिजो राजा/महाराजको पछिपछि दौड्ने सुरक्षाकर्मी अहिले नेताको पछिपछि दौडनुपरेको छ । हिजो र आजमा फरक के भयो र ? शासन गर्ने व्यक्ति फरक भए, बाँकी सबै उही । हिजो राजा/महाराजाको विषयमा बोल्न, लेख्न पाइँदैन थियो, राजद्रोहसम्म लाग्न सक्थ्यो । अहिले पनि सामाजिक सञ्जालमा नेताका विषयमा असन्तुष्टि लेख्दा खतरा मोल्नुपर्ने अवस्था छ । हिजो र आजमा फरक ?

हाम्र्रो जस्तो गरिब देशले यतिका नेतालाई कहिलेसम्म पाल्न सक्ला ? जनताले तिरेको करले नेतालाई सेवासुविधा नै पुग्दैन, कर्मचारीलाई तलबभत्ता केले दिने ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, निजामती कर्मचारीलाई दिँदै आएको सेवा सुविधामा कटौती गर्नुपर्छ । तल्ला दर्जाका कर्मचारीको तलब स्केल बढाउनुपर्छ, अनि मात्र समानता आउनेछ । अहिले लगभग दुई तिहाइको सरकार छ । यो मौकामा प्रधानमन्त्रीले सबै सरकारी खर्च कटौती गर्नुपर्‍यो । त्यसका लागि नीति बनाएर संसद्बाट पास नै गर्नुपर्‍यो । देश भड्खालोमा गएकै कारण सरकारी खर्च बढ्दो भएर हो । हुन त यस्ता गम्भीर विषयले स्थान पाउँदैनन् । यस्ता विषय उठाउने नेता नै को होला र ? किनकि तिनलाई पनि शक्तिबाट बाहिरिन मन छैन । गणतन्त्र नेपालमा जनताले यस्ता विषय बोल्यो भने गणतन्त्रविरोधी भइन्छ । तेल विदेशबाट, गाडी ल्याउने विदेशबाट, पार्टपुर्जा विदेशबाटै । अनि हरेक मन्त्रीलाई गाडी, तेल, चालकदेखि मर्मत खर्च पनि सरकारी ढुकुटीबाट । कुनै निश्चित व्यक्तिका लागि मात्र भएभरको सबै सुविधा दिने तर जनतालाई खोइ राहत ? हरेक क्षेत्रबाट सरकारी सम्पत्तिको दुरुपयोग भएको छ, रोक्ने कसले ?

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully