अन्यथा नसोच्नुहोला, एउटा वास्तविक कथामा आधारित सत्य घटना भन्दै छु । घरमा टाढाबाट पाहुना आउँछन् । घरबाहिर राखेको बेल बज्दैन तर पाहुनाले आफू आएको संकेत गर्छन् ।
पाहुनामा हुन्छन्, एक बुढीआमा र नाति केटो जो गाउँदेखि आएका हुन्छन् । टाढाबाट आएका, साँझ पर्न लागेको छ । गोधूलि साँझका पाहुना देवतासरह भन्छन् । तर घरका सबै सदस्य मोबाइलमा व्यस्त भएर बाहिरका गतिविधि थाहै पाउँदैनन् । ती बुढीआमा कराउँछिन् तर कसैले सुन्नेवाला छैन । नाति केटो तिर्खा लाग्यो भन्छ तर कहाँ जानू ! उता घरका सबै जना मोबाइलमा व्यस्त छन् । अन्तिममा हजुरआमा–नाति गाउँकै छिमेकतिरको घरमा जान्छन् ।
सम्भवतः उक्त घरको बाहिरी भर्याङबाट माथि जान सहज पहुँच हुन्छ । त्यसै मौका छोपेर चोरले माथि कोठाको दराज फोर्छ र भएका गरगहना र पैसा चोरेर लैजान्छ । ढोकाको लक खुल्ने मास्टर कि लगेको हुन्छ चोरले । बेलुका खाना खान्छन्, तैपनि चोरिएको सामानबारे मोबाइलका कारण कसैले थाहा पाउँदैनन् । संयोगवश, भोलिको विवाहको कार्यक्रममा जाने बेलामा मात्र थाहा हुन्छ कि सबै गरगहना चोरी भएको रहेछ भन्ने कुरा ।
त्यसैले पहिलाका मानिसको लत कंकडमा थियो याने कि चुरोट, तमाखु र बिँडीमा तर अहिले राम्रो नाना, सुरक्षित छाना अनि खानाका लागि माना भुल्यो मानिसले । केवल मोबाइल भए पुग्छ । त्यसैले १२ कक्षासम्मको अध्ययन गर्ने केटाकेटीहरूका लागि पश्चिमाहरूले यसको सीमिततामा जोड दिन लागेको पाइएको छ । यसै प्रसंगमा सबै जनाले अनावश्यक मोबाइल व्यस्तताको समयतिर ध्यान दिऊँ किनकि तपाईंको व्यस्तताको फाइदा अरूले उठाइरहेको हुन सक्छ ।
– खिमराज गिरी, काठमाडौं
