प्रिय एरिक, आज श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजाको दिन । यो दिनलाई ज्ञान, शिक्षा र प्रकाशको सुरुवातका रूपमा हेरिन्छ ।
संयोगले, आजै तिम्रो जीवनको ठूलो दिन पनि हो— तिम्रो पहिलो विद्यालय जाने दिन । सक्थें भने, आज बिहान तिम्रो सानो हात समातेर स्कुल पुर्याउने थिएँ । सरस्वतीको मन्दिरमा तिमीलाई झुकाएर, ‘मेरो छोरो सिपाही बनोस्, इन्जिनियर बनोस्, डाक्टर बनोस् —जे बने पनि असल मान्छे बनोस्’ भनेर आशीर्वाद माग्ने थिएँ । तर दुर्भाग्य, त्यो खुसी मलाई नसिब भएन ।
तिमी स्कुल जाँदै छौ, नयाँ किताब, नयाँ शिक्षक, नयाँ साथीहरू हुनेछन् । तर तिम्रो बाबा भने तिमीबाट हजारौं किलोमिटर टाढा बसेर यो चिठी लेखिरहेको छ । तिमीलाई पहिलोपटक अक्षर चिनाउने आमाको सपना थियो, तिमीलाई स्कुल लैजाने बाबाको सपना थियो— तर ती सपना अधुरा भए । किन ? किनभने हाम्रो देशले हाम्रा सपना पूरा गर्न सकेन । देशमै बसेर संघर्ष गर्न खोज्यौं, तर देशले हामीलाई बिदेसिन बाध्य बनायो । हाम्रो सपना धेरै ठूला थिएनन्, बाबु । हामी केवल तिमीलाई आफ्नै काखमा राखेर हुर्काउने, तिमी हाँस्दा हाँस्ने र तिमीले पहिलो पाइला चाल्दा ताली बजाउन चाहन्थ्यौं । बिहान तिमीलाई स्कुल पठाएर, साँझ फर्किंदा तिमीलाई काखमा राखेर दिनभरि के सिक्यौ भनेर सोध्न चाहन्थ्यौं । तर देशको बेथिति, बेरोजगारी र अन्यायले हाम्रो सपना चकनाचुर बनाइदियो । देशमा रोजगारी छैन, इमानदार श्रमको मूल्य छैन, भ्रष्टाचारले सबै अवसर लुटेको छ । नेताहरू भाषण दिन्छन्, सपना बेच्छन्, तर ती सपना कहिल्यै पूरा हुँदैनन् । हामी आफ्ना सन्तानलाई स्कुल पठाउने संघर्ष गरिरहेका छौं, उनीहरूले आफ्ना सन्तानलाई विदेश पढाउन लाखौं खर्च गरिरहेका छन् ।
तिमीलाई आमाले आफ्नै हातले पहिलो अक्षर चिनाउन पाइनन् । बाबाले पहिलो स्कुल पुर्याउन पाएन । हाम्रो पुस्ताले भोग्नुपरेको पीडा तिम्रो पुस्ताले भोग्नु नपरोस् भनेर हामीले यो संघर्ष गरिरहेका छौं । तिमी ठूलो भएपछि दुइटा बाटाहरू देखिनेछन् । पहिलो, जहाँ देशका बेथिति सहेर चुप लाग्नेहरू हिँड्छन् । दोस्रो, जहाँ सत्य बोल्नुपर्छ, अन्यायविरुद्ध लड्नुपर्छ, अनि आफ्ना सन्तानका लागि अब हामीले भोग्नुपरेको पीडा उनीहरूले भोग्न नदिन प्रयास गर्नुपर्छ । म चाहन्छु, तिमी त्यो कठिन तर न्यायको बाटो रोज । तिमी असल मान्छे बन, इमानदार बन, अनि देशको भलोका लागि काम गर । हाम्रा आँसुलाई तिमीहरूको पुस्ताले दोहोर्याउनु नपरोस् । अब तिमीहरूको पुस्ताले यो देश बनाउनुपर्छ । हामीले हिँडेका पीडाका बाटा तिमीहरूका लागि सहज बनाउनुपर्छ ।
श्रीपञ्चमी केवल देवी सरस्वतीको पूजा गर्ने दिन मात्र होइन, ज्ञानको प्रकाश फैलाउने दिन पनि हो । आजदेखि तिमीले अक्षर चिन्न सिक्नेछौ, बुझ्नेछौ, सोच्नेछौ । तर साँचो शिक्षा भनेको केवल किताबमा सीमित हुँदैन । तिमीले न्याय सिक्नुपर्छ, इमानदारी सिक्नुपर्छ, अनि परिवर्तनका लागि लड्न सिक्नुपर्छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
