सडक निर्माण कहिले हुन्छ ?

माघ २१, २०८१

पाठक पत्र

When will the road be built?

बीपी राजमार्गअन्तर्गत पर्ने धुलिखेल–भकुन्डे सडक निर्माण कहिले हुन्छ सरकार ? भत्केको महिनौंसम्म निर्माण कार्य थालनी हुँदैन भने त्यो सडक पूर्ण रूपमा कहिले तयार होला ?

बर्खामा काम गर्न सकिँदैन, हिउँदमा काम नै गरिँदैन भनेपछि कामचाहिँ कहिले गर्ने ? जनताको न्यूनतम आवश्यकता पूरा गर्न सरकार किन सक्दैन ? हुन त जनताले सरकारलाई प्रश्न सोध्न पाउने अधिकार छैन क्यार ! तैपनि अलपत्र बाटो देख्दा जनतालाई परेको समस्या भनेको मात्र हो । गत असोजमा परेको अविरल वर्षाले भत्केको २० किमि बाटो अहिलेसम्म बनाउने कुनै तरखर देखिएको छैन । जापान सरकारले निर्माण गरेको उक्त बाटो फेरि पनि जापान सरकारलाई नै अनुरोध गरेर निर्माण गराउन सकिँदैन ? हुन त जापान सरकारले बनाएपछि कमिसन आउँदैन, त्यो भएर पनि आलटाल गरेको होला भन्ने लाग्छ । अबको केही महिनामा बर्खा लाग्छ अनि त्यो ठाउँबाट गाडी गुड्ने सम्भावना नै छैन । हिउँद भएर अहिले खोलाबाट अस्थायी बाटो बनेको छ, जसबाट यात्रु जेनतेन यात्रा गरिरहेका छन् । भोलि बर्खा लाग्नेबित्तिकै त्यहाँको बाटो बन्द हुने पक्का छ ।

भत्केको बाटो महिनौंसम्म अलपत्र रहन्छ । खोलामा पुल बनाउन शिलान्यास गरेको वर्षौंसम्म बन्दैन । पुल बनाउने
ठेकेदारले पैसा लिएर जान्छ । समयमा काम हुँदैन । यदि भइहाल्यो भने गुणस्तरको हुँदैन । यसरी कहिलेसम्म देश चलाउने नेताज्यू भनेर जनताले प्रश्न गरिरहेका छन् । अब त जनताले देख्ने कुनै काम गरेर देखाउनुहोस् ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully