कान्तिपुरको बिहीबारको सम्पादकीय सरकारका लागि शिक्षाप्रद छ । यसलाई मनन गरेर अगाडि बढे मात्र लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहन सक्छ ।
अन्यथा लोकतन्त्र कागजमा मात्र सीमित रहनेछ । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता एकअर्कासँग अन्योन्याश्रित छन् । दुवैलाई अलग गर्दा लोकतन्त्रको रथ अगाडि बढ्न सक्दैन । यसकारण पनि वर्तमान सरकारले सामाजिक सञ्जाल नियमन र नियन्त्रणका लागि भनेर संसद्मा दर्ता गरेको विधेयक फिर्ता लिनु आवश्यक छ । अन्यथा यही विधेयक नै लोकतन्त्र समाप्त गर्ने मुख्य कारक तत्त्व बन्न सक्छ । विधेयक जस्ताको तस्तै पारित भएमा नेपालको लोकतन्त्र नाम मात्रको लोकतन्त्र रहनेछ जहाँ सरकार र सरकारले गरेका खराब कामको स्वच्छ आलोचना गर्दा मात्रै पनि मानिस जेलको हावा खान बाध्य हुनेछन् । यो विधेयक जस्ताको तस्तै पास भएमा सरकार झनै तानाशाही र क्रूर बन्नेछ र आफ्ना विरोधीलाई यही कानुनको भरमा तह लाउनेछ ।
निश्चय नै सामाजिक सञ्जालमा ‘फेक आईडी’ खोलेर व्यक्तिगत रूपमा मानमर्दन गर्ने, शोषण गर्ने, चरित्र हत्या गर्ने फोहोरी खेल पनि देखिन्छ । त्यसलाई नियमन र नियन्त्रण गर्नु आवश्यक छ । त्यसका लागि कानुन बन्नु बनाउनुपर्छ । तर सरकारले अहिले पेस गरेको विधेयक व्यक्तिगत स्वतन्त्रता र मानमर्यादाको सुरक्षा गर्नभन्दा पनि सरकारको सुरक्षा र स्वेच्छाचारितामा ध्यान दिएको छ । सरकारलाई कसैले सामाजिक सञ्जालमार्फत भ्रम छरेको, अभद्र व्यवहार गरेको लाग्यो कि समातेर मुद्दा दायर गरिदिइहाल्ने ? यो अभद्र व्यवहार, भ्रमको परिभाषा गर्ने कसले ? यो शब्दको दुरुपयोग गरी सरकार सबैको मुख थुन्न उद्यत हुन सक्छ । लोकतन्त्रमा सरकार र सरकारले गरेका काममा टिप्पणी, आलोचना र विरोध गर्न पाइन्छ । राजाको शासनमा त्यही नहुँदा जनताले लोकतान्त्रिक गणतन्त्र ल्याएका हुन् । यसर्थ यसलाई पुनः कुण्ठित हुने काम कसैले गर्नु हुन्न ।
केपी शर्मा ओली प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति पहिलेदेखि नै अलि अनुदार थिए । यसैले यसअघि पनि उनले मिडिया विधेयक बनाउँदा अहिलेको जस्तै विरोध भएर फिर्ता लिनुपरेको थियो । अहिले फेरि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सामाजिक सञ्जाल विधेयक अघि सारेका छन् । यसर्थ यसको विरोधमा नेपाली कांग्रेस दह्रो भएर अगाडि आउनु जरुरी छ । किनकि कांग्रेस लोकतन्त्रको पर्यायवाची मानिन्छ । बरु सत्ता गए जाओस् तर लोकतन्त्रमा सम्झौता गर्नु हुँदैन ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं
