सुधार्न र गर्न बाँकी सानातिना काम धेरै छन् । तैपनि हाम्रो व्यस्तता र दिनचर्या आफ्नै पाराको जो छ, छँदै छ । घरअगाडि फोहोर थुप्रिएको छ । छिमेकीले सफा गर्ने नाममा प्लास्टिक डढाएर श्वासप्रश्वासमा बाधा पुर्याउँछ । खोलाछेउ हिँड्दा नाक थुन्नुपर्छ । अध्ययन, चिन्तन, मननमा मनै छैन ।
तास खेलेर रमाइलो गर्न फुर्सद छ । कहिलेकाहीँ खेल्दाखेल्दै जुरुक्क उठेर ‘हाम्रा नराम्रा बानी’ विषयक अन्तर्क्रियामा भाग लिन जाने काम पनि आइपर्छ । दिनहुँ भाषण, वाचन, भेला, छलफल र मिटिङ हुन्छन् । पार्टीका अनेक समितिका बैठक बस्छन् । तर त्यहाँ हुने भनेको खासगरी आफ्नो पार्टीको अति प्रशंसा र अन्य पार्टीको अति निन्दा नै हो ।
भनिन्छ, अरूलाई चोरऔंलाले देखाउँदा बाँकी चार औंलाले आफैंलाई देखाइरहेका हुन्छन् । वास्तवमा हामी आफैं निन्दनीय हौंला तर अरूको निन्दा गर्न पाए मजा मान्छौं । कसैले हामीलाई स्वार्थवश वा उपहास गर्ने पाराले प्रशंसा गर्यो भने खुसीले भुइँ छाड्छौं । बुद्ध जन्मेको देशमा चर्चा गर्न लायकका वीर, निःस्वार्थी र त्यागी व्यक्तिको कुनै कमी छैन । तर हामीलाई त्यस्ता व्यक्ति विदेशी नै चाहिन्छ । शाश्वत विचार, दर्शन र सिद्धान्त हाम्रै छन् । तर ती पनि हामीलाई विदेशीकै चाहिन्छ ।
आफूसँग नभएको गुण प्रदर्शन गर्नु हाम्रो विशेषता बनेको छ । आफैं भ्रष्टाचारी, अत्याचारी भएर पनि सदाचारको खुब चर्चा गर्छौं । भर्खरै घरमा भारतबाट आयातित चामलको भात र दाल, तरकारी खाएर आई बैठकमा भारत आफ्नो प्रमुख शत्रु भएको चर्चा गर्न पनि हामीलाई कुनै अप्ठ्यारो लाग्दैन । त्यति मात्र होइन, पुँॅजीवाद, साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाददेखि लिएर समाजवाद र साम्यवादसम्मको व्याख्या गर्न पनि हामीलाई मज्जाले आउँछ । राष्ट्रियस्तरकै चर्चा गर्न अनेक भ्रष्टाचार काण्ड इत्यादि छँदै छन् । यीबाहेक हाम्रो जनस्तरबाट हुने चासो र चिन्ता भनेको सरकार कतिन्जेल टिक्ला, कहिले चुनाव आउला, गठबन्धन फेरि कोसँग होला, कसले जित्ला/हार्ला π यस्तै यस्तै त हो ।
देश र जनताको उन्नतिका लागि संविधानतः निर्धारित केन्द्र र प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक अनि राष्ट्रिय सभामा समेत गरी सांसदकै सङ्ख्या ८८४ जना π सभामुख–उपसभामुख नै १६ जना π प्रदेश प्रमुख नै सात जना । केन्द्र र प्रदेश गरेर मन्त्रीहरू नै १०० भन्दा बढी π जिल्ला समन्वय समितिका संयोजक ७७ । स्थानीय निकायका प्रमुख ७५३ जना । उपप्रमुख, वडाध्यक्ष र सदस्यको हिसाबै नगरौं । केन्द्र र प्रदेश गर्दा योजना आयोग नै ८ वटा π प्रदेश ७ भए पनि ८ राज्यको जस्तो चहलपहल छ । राजनीति नियुक्तिका लागि दर्जनौं आयोग पनि छन् । प्रत्यक्ष सुविधा लिने यीबाहेक यिनका घरपरिवार, आफन्त, कार्यकर्ता, आसेपासे पनि छन् । यति मात्र होइन, यी सबैलाई सहयोग गर्ने सुविधासम्पन्न सचिवालय र कर्मचारी, सबैका लागि मोबाइल, घरभाडा, अनेकौं गाडी, इन्धन, तलबभत्ता, औषधोपचार, सुरक्षालगायत अनेक सुविधा । पूर्वविशिष्टको नाममा जीवनभर अनेकौं सुविधा ! काठमाडौंमा समेत सुविधाजनक घर !
अन्य विकसित देशमा द्रुतगतिमा काम हुन्छ । यहाँ भने देश र जनताका लागि चुनिएका बहुसङ्ख्यकको एकमुष्ट योगदान नै भ्रष्टाचार, कुशासन, अराजकता, गैरसंवैधानिक काम, ऐन कानुनको उल्लंघन, विधि र पद्धतिको उपहासमा समय बित्दै छ । चुनावमा जाने, विलासी जीवन बिताउने, धनसम्पत्ति धेरै हुने र जोसँग पनि मिलेर सरकार चलाउन रुचाउनेहरू आफूलाई कम्युनिस्ट भन्दै छन् । जस्तो आफू त्यस्तै च्यापु भनेझैं देशको राजनीति नै दरिद्र भएपछि अन्य क्षेत्र असल हुने कुरै भएन । यस्तो भएपछि यो देश कुन जुनीमा समृद्ध होला ?
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
