ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउने र बनाउन नदिनेबीच झडप भएका खबर आएका छन् । प्रहरीको गोली लागेर केही स्थानीय घाइतेसमेत भएको समाचार आएको देख्दा दुःख लाग्यो ।
प्रहरीको काम भनेको जनताको रक्षा गर्ने कि गोली चलाउने ? आदेश नआई कुनै प्रहरीले गोली चलाउँदैन, आदेश दिनेमाथि छानबिन हुनुपर्छ । तलका प्रहरीलाई कारबाही गरेर माथिल्लो पदकाले पन्छिन मिल्दैन । प्रहरीले गोली चलाउनुबाहेकको विकल्प किन देख्दैन ? कुख्यात अपराधीलाई गोली चलाउन नसक्ने प्रहरी निर्दोर्ष जनतामाथि किन दमन गर्छ ? घटना भइसकेपछि समस्याको समाधान खोज्ने गृहमन्त्री रमेश लेखकले छलफलका लागि ताप्लेजुङका सांसदलाई बोलाएछन् । संवादबाटै समस्या सुल्झियोस् भन्ने कामना छ ।
पाथीभरा क्षेत्रमा केबलकार किन आवश्यक पर्यो ? हिँडेर जान नसक्नेका लागि केबलकारले भरथेग गर्ला भन्दैमा त्यहाँ व्यापार व्यवसाय गर्नेको उठीबास लगाउन मिल्दैन । अहिले दैनिक रोजगारी पाएका कतिपयको रोजगारी खोसिन्छ, त्यता पनि ध्यान जाओस् सरकारको । सरकारले रोजगार दिन नसक्ने अनि गरेर खान पनि नदिने कस्तो नीति हो यो ? पाथीभराको महत्त्व अहिले जति छ, केबलकार बनेपछि त्यो नरहन सक्छ । त्यहाँको संस्कृति र प्राकृतिक सुन्दरता संरक्षण गर्ने सोच सरकारमा देखिन्न, मात्र कमिसन खाने र व्यापारी पोस्न लालायित देखिन्छ । मनकामना, चन्द्रागिरि, कालिञ्चोक जस्ता मन्दिरमा केबलकारको आवश्यकता थियो त ? कमिसनकै भरमा देश चलाउने हाम्रा नेता कहिले सुध्रेलान् ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
