हरेक नेपालीको भान्साघर तेलबिना अपूर्ण छ । दाल, तरकारीजस्ता परिकार बनाउन होस् वा पूजा र भोजसम्म तेल अपरिहार्य छ । तर हामीले प्रयोग गर्ने तेल कतिको गुणस्तरीय छ त ?
कहिल्यै ख्याल गरेका छौं ? स्वाद ल्याउनका लागि मात्र नभई खानालाई पचाउन पनि यसको प्रयोग हुन्छ । ए, डी, ई र के जस्ता ‘भिटामिन फ्याट सोल्युबल’ हुने कारण यस्ता भिटामिन शरीरले खानाबाट प्राप्त गर्छ, त्यसका लागि चिल्लोको आवश्यकता पर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अस्वस्थ तौल वृद्धिलाई रोक्न हामीले खाने दैनिक कुल ऊर्जा (क्यालोरी) को ३० प्रतिशतभन्दा बढी फ्याट सेवन नगर्न सिफारस गरेको छ । यो कुल फ्याटको सीमाभित्र स्याचुरेटेड फ्याटको १० प्रतिशत र ट्रान्स फ्याटको १ प्रतिशतभन्दा बढी सेवन नगर्न डब्लूएचओले भनेको छ ।
प्रायजसो हामीले खाने खानामा नै त्यस खानालाई पचाउनका लागि आवश्यक तेल हुन्छ । जस्तैः नट्स, बदाम, एभोकाडोमा ‘मोनाउनस्याचुरेटेड फ्याट’ हुने गर्छ । सागसब्जीमा भने पानीको मात्रा बढी र तेलको मात्रा कम हुन्छ, त्यसैले पकाउँदा तेलको प्रयोग गर्नुपर्छ । नेपाली चलनअनुसार पहिलेपहिले खाना पकाउँदा गाईको घिउ प्रयोग हुन्थ्यो । घिउलाई फ्राई वा धेरैबेरसम्म तताउन नमिल्ने भएकाले तेलको लोकप्रियता बढ्दै गयो । पछिल्लो समय भने तेलमा मिसावटका खबर बाहिर आइरहेका छन् ।
तेल हाम्रो शरीरका लागि अत्यावश्यक भएकाले यसको प्रयोग गर्दा केही कुरामा ध्यान दिनुपर्छ । ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट कम भएको तेलको प्रयोग गर्नुपर्छ । तोरीको तेलको प्रयोग गर्दा कोल्ड प्रेस्ड मेथडबाट नकालिएको प्रयोग गर्नुपर्छ । यस्तै, प्रिजर्भेटिभ्स प्रयोग नगरिएको तेल उपयुक्त हुन्छ । ए, डी र ई जस्ता भिटामिन भएका तेलको प्रयोग गर्नु राम्रो हुन्छ भने नेपालमा बनेका भरपर्दो र गुणस्तरीय तेलको मात्र प्रयोग गर्नुपर्छ ।
– गृष्मा गुरागाईं, काठमाडौं
