कान्तिपुरमा माघ १० गते प्रथम पृष्ठमा प्रकाशित ‘१७ वर्षदेखि चिसो भुइँमा पढ्दै बालबालिका’ ले प्राथमिक विद्यालयको दुर्दशा, हाम्रो शिक्षा प्रणाली र सरकारको उदासीनताको कालो चित्र प्रस्तुत गरेको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–१ स्थित दलित प्राथमिक विद्यालयमा १७ वर्षदेखि बालबालिका बोरा र पाल ओछ्याएर चिसो भुइँमा पढिरहेका छन्् । यो केवल लज्जाको विषय होइन, यो राज्य प्रणालीको पूर्ण असफलताको प्रतीक हो । विद्यालय भवन छैन, डेस्क–बेन्च छैन, शौचालय छैन । एउटा यस्तो विद्यालय जहाँ हाजिर रजिस्टर र कागजपत्रसमेत प्लास्टिकको झोलामा राख्नुपर्छ, त्यहाँ के आशा गर्ने ? हरेक दिन बालबालिका घरबाट बोरा बोकेर आउँछन् । जसले बोरा ल्याउँदैनन्, उनीहरू कठ्यांग्रिँदै चिसो भुइँमा बस्न बाध्य हुन्छन् ।
नेताहरूको भाषणमा समृद्धि छ । चुनावका वाचामा शिक्षामा लगानीको कुरा छ । तर, वास्तविकतामा तिनीहरूको प्राथमिकता बालबालिकाको भविष्य होइन, आफ्नो राजनीतिक स्वार्थ मात्रै हो । दलित समुदायका यी बालबालिकाको संघर्ष र सपनाप्रति कुनै सरकारको चासो छैन । बालबालिकाका लागि ठोस कदम चाल्नुको सट्टा, रकम अपचलन र योजनाको असफलता मात्र देखिन्छ ।
प्रधानाध्यापक हीरालालप्रसाद यादवका आँखा बोल्छन्— राज्यले वास्ता गरेको छैन । नगरपालिकाले जिम्मेवारी बिर्सेको छ । १० धुर जग्गामा ठडिएको झुपडी आजको ‘नयाँ नेपालको शिक्षा प्रणाली’ को प्रतिनिधि उदाहरण बनेको छ । बालबालिकाको आधारभूत अधिकारलाई यसरी कुल्चिनु गैरजिम्मेवारीपनको चरम अवस्था हो । विद्यालयका नाममा आएको बजेट कहाँ गयो ? किन यो विद्यालय अझै झुपडीमा सीमित छ ? यो प्रश्नको उत्तर कसले दिने ? १० लाख छुट्याएर अन्ततः कुनै प्रतिष्ठानको नाममा पास गरिदिएको जमिन बालबालिकाको भविष्यका लागि होइन, कुनै राजनीतिक योजना पूरा गर्नका लागि थियो । विदेशमा बसेर अत्याधुनिक विद्यालय, डिजिटल पढाइका कुरा हेर्दा बुझ्दा, सुन्दै गर्दा मेरा देशका भाइबहिनी, हाम्रा छोराछोरीको यो दुर्दशाको यस्तो समाचारले मन चिरिन्छ । के ती बालबालिकाको गल्ती उनीहरूको जात हो ? के उनीहरूको भविष्यको कुनै महत्त्व छैन ? राज्य र सरकारको उत्तरदायित्व किन बालबालिकाप्रति मौन छ ?
समृद्ध नेपालको कुरा गर्ने नेताहरू, के तपाईंहरूले यी बालबालिकाको चिसो भुइँमा बस्नुपरेको दृश्य देख्नुभएको छ ? के तपाईंहरूको राजनीति यी निर्दोष बालबालिकाको आँसुभन्दा ठूलो छ ? आज दलित बालबालिका मात्र होइन, सिंगो देशको भविष्य चिसो भुइँमा कठ्यांग्रिँदै छ । यो लज्जा र असफलताको कथा हो । राज्य, कृपया आँखा खोल, यी बालबालिकाको भविष्य बचाउन ढिला नगर । नेताहरू, भाषण होइन, काम देखाउनुहोस् । बालबालिकाको आँसु तपाईंका स्वार्थभन्दा बहुमूल्य छ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
