बिहीबारको कान्तिपुर दैनिकमा सुरेन्द्र बस्नेतद्वारा लिखित ‘जेन–जीलाई जोड्दै माओवादी’ शीर्षकको लेख पढेर केही सुझाव दिन मन लाग्यो ।
वास्तवमा जेन–जी नयाँ विचार, जोस, जाँगर, अनुकूलनशीलता तथा नयाँ मूल्य र मान्यताका साथ समाज परिवर्तनमा लागिपरेका हुन्छन् । यो पुस्ता प्रविधिमा निपुण, सामाजिक रूपमा सचेत र विश्वव्यापी रूपमा विविध प्रविधिसँग जोडिएको हुन्छ । लेखकका अनुसार हालै माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैटौं पूर्ण बैठकमा जेन–जीको आवश्यकता र औचित्यताबारे पनि छलफल भएको रहेछ । हरेक क्षेत्रमा युवाको आवश्यकताबारे हरेक दलले बुझिदिएका भए र त्यहीअनुसार युवाकेन्द्रित शिक्षा, स्वास्थ्य, रोजगारीमूलक कार्यक्रमको रूपरेखा तयार पारेको भए आज युवा बिदेसिन बाध्य किन हुन्थे होलान् ? आजका युवा आफैं सचेतभन्दा पनि आफ्ना अभिभावक र राज्यद्वारा समयमै सचेत गराएर नेपाल बस्ने वातावरण बनाइएन भने अझै पनि प्लस टुको अध्ययन सकिनासाथ विदेश जानेको लर्को रोकिने छैन ।
सम्पूर्ण दल मिलेर राष्ट्रिय सरोकारको विषयमा एक ढिक्का हुने र अन्तर्राष्ट्रिय मामलामा एउटै कूटनीति नभएसम्म हरेक दलका यस्ता सैद्धान्तिक बहसले अब देश बन्नेवाला छैन । आजका युवा पनि सर्वप्रथम नयाँ मिडिया तथा सामाजिक सञ्जालको हौवामा कुद्ने र अनावश्यक समय मोबाइलमा खेर फालेर रचनात्मक कार्यतिर ध्यान नदिने खालका छन् । विभिन्न राजनीतिक दलले चुनावको समयमा मात्र युवा सम्झिने रोग निराकरणका लागि यसको व्यवस्थापनमा ध्यान दिन जरुरी छ । त्यसैले युवाकेन्द्रित कार्यक्रम ल्याउनका लागि सरकारमा जुनसुकै दल सामेल भए पनि विलम्ब गर्नु हुँदैन ।
– खिमराज गिरी, काठमाडौं
