शिक्षा र स्वास्थ्यमा छैन सुधार

माघ ८, २०८१

पाठक पत्र

No improvement in education and health

देशमा पञ्चायतले केही गर्न सकेन भनियो, प्रजातन्त्र आयो । प्रजातन्त्रले केही गर्न सकेन भनियो, गणतन्त्र आयो ।

देशमा तन्त्र परिवर्तन भयो तर नेताको सोच र चेतनामा परिवर्तन आउन सकेन । जनताको न्यूनतमा आवश्यकता शिक्षा र स्वास्थ्यमै सरकार चुकेको छ । अहिले पनि एउटा सिटामोल खान नपाएर मान्छे मर्ने अवस्था छ । राम्रो उपचारका लागि भारत जान बाध्य पारिएको छ ।

शिक्षा र स्वास्थ्य नै प्रमुख हो, यसबाटै वञ्चित हुनुपरेपछि परिवर्तन आएको मान्ने कसरी ? नेपालका निजी शिक्षालय महँगा छन्, सर्वसाधारणले त्यसमा पढाउन सक्ने अवस्था छैन । सरकारी विद्यालय सबै जीर्ण बन्दै गएका छन् । गाउँघरतिर पढाउने शिक्षक र पढ्ने विद्यार्थी नपाइने भयो भन्ने समाचार बेलाबेलामा आउँछ । सरकारले शिक्षामै करोडौं खर्च गर्छ तर शिक्षाको अवस्था नाजुक बन्दै गएको छ । परिवर्तन आन्दोलन, नाराजुलुसले होइन, शिक्षाले गर्छ । शिक्षित व्यक्तिले समाजमा परिवर्तन ल्याउँछ । शिक्षाको नाउँमा राजनीति भएको छ, यसको अन्त्य आवश्यक छ ।

स्वास्थ्यको कुरै छाडौं अस्ति कान्तिपुरले एकै वर्षमा २३ सय चिकित्सक विदेशिएको समाचार प्रकाशन गरेको थियो । यो समाचारले सरकारलाई छोएन । सरकारी अस्पतालमा उपचार राम्रो गर्दैनन् । निजी अस्पतालमा उपचार गराउनै सकिँदैन अनि सर्वसाधारणले के गर्ने ? संविधानमा लेखिएको छ, हरेक नेपालीको पहुँचमा स्वास्थ्य क्षेत्र हुनुपर्छ । तर खोइ ? एउटा अप्रेसनका लागि ३ महिना, वर्ष दिन कुर्नुपर्छ । पढेलेखेका डाक्टर, वकिल, इन्जिनियर, सबै विदेश पलायन भएपछि देशको अवस्था कस्तो बन्ला ? एक वर्षमा २३ सय डाक्टर बिदेसिनु भनेको नेपालका लागि ठूलो घाटा हो । पढाइ कहिले सकिएला र विदेश जाउला भनेर बसेका छन् युवाहरू । किन यसो भयो भनेर खोजबिन कहींकतैबाट भएको छैन । युवा जनशक्तिलाई स्वदेशमै राख्नुपर्छ भन्ने सोच नेताहरूमा कहिले आउला ?

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully