गत पुस २८ गते दिनको ११ बजेतिर म चितवनको भरतपुरबाट रत्ननगरतर्फ गाडीमा जाँदै थिएँ ।
हामी चढेको गाडीको पछाडि प्रहरीको पिकअप र सँगै कुनै मन्त्रीको स्करपियो गाडी साइरन बजाउँदै आए । यसरी आए कि पृथ्वीमा तत्कालै कुनै ठूलो प्रलय हुँदै छ र उक्त गाडीमा सवार मन्त्रीले मात्रै त्यो प्रलयबाट जोगाउन सक्छन् । बाटोमा यात्रा गर्ने सारा यात्रुलाई आतंकित बनाउँदै र अझै किन साइड नदिएको भनेर गाली गर्दै ती गाडी अगाडि बढे । देशका महत्त्वपूर्ण ओहदामा बसेका व्यक्तिलाई प्राथमिकता दिनु राम्रै कुरा हो । तर, साँघुरो बाटोमा दुर्घटना हुने गरी जबर्जस्ती उछिन्न खोज्नु र अझ निकुञ्जभित्र ध्वनि प्रदूषण गर्नु सुरक्षा निकाय र मन्त्रीको ज्यादती हो । जनताको पसिनाले तलब भत्ता खाने सुरक्षा निकाय र केही दिन मन्त्री हुँदा आफूलाई सर्वश्रेष्ठ ठान्ने मन्त्रीहरूले देशैभर यस्ता ज्यादती बन्द गरून् । यस्तै घटनाले सुरक्षा निकाय र राजनीतिकर्मीप्रति नागरिकको असन्तुष्टि बढ्दै गइरहेको छ । तिनले बुझून् ।
– सञ्जय अधिकारी, काठमाडौं
