मैले आफ्नै देशमा रोजगारी पाउँछु ?

माघ ८, २०८१

पाठक पत्र

Can I get a job in my own country?

म एक प्रवासी नेपाली । आफ्नो देशप्रतिको असह्य माया र पीडाको भावनाले यो चिठी लेख्दै छु । आजकाल हरेक सामाजिक सञ्जाल हेर्दा युवाहरूको अनुहारमा निराशा मात्र देखिन्छ ।

यस्ता निराशावादी कुरा र नेताप्रति आक्रोश सुन्दा मेरो मनमा एउटा मात्र प्रश्न आउँछ— कसले बुझ्ने हो, यो देश छोडेर जानुपर्ने हाम्रो बाध्यता ?

म परदेशमा अरूको दास बनेर बाँचिरहेको छु । मेरो पसिनाले यहाँको जमिन भिजाइरहेको छ, तर मेरो मन भने आफ्नो जन्मभूमिको माटोमा पाइला टेक्न आतुर छ । कहिलेसम्म म आफ्नो छोराछोरीलाई स्क्रिनमा मात्रै हेर्न बाध्य हुनेछु ? कहिलेसम्म म ‘बाबा कहिले घर आउनुहुन्छ ?’ भन्ने प्रश्नले झस्किनुपर्ने हो ? नेपालको राजनीतिले अक्षम नेतृत्वलाई सहेर धेरै पुस्ता बितायो । अहिले हामी युवाशक्ति विदेश पलायन भइरहँदा तपाईंहरू किन मौन हुनुहुन्छ ? यहाँ जापानीलाई खुसी बनाउन १२ घण्टा खटिन्छु । मेरो हरेक परिश्रम यहाँको अर्थतन्त्र बलियो बनाउन प्रयोग हुन्छ । तर मेरो देशमा यस्तो व्यवस्था कहिले आउँछ, जसले मलाई र मेरो जस्तै हजारौं दाजुभाइलाई आफ्नै देशमा बाँच्न, कमाउन र बुढेसकालमा सन्तानको काखमा मर्न दिनेछ ?

मलाई मेरा छोराछोरीसँग आफ्नो देशको विद्यालयमा जाने सपना देख्न दिनुहोस् । मलाई यस्तो देश दिनुहोस्, जहाँ मैले जापानीको दास होइन, नेपालको स्वाभिमानी नागरिक भएर बाँच्न सकूँ । युवाशक्ति देशको मेरुदण्ड हो । तर यो मेरुदण्डलाई कमजोर बनाउँदै हामीलाई बिदेसिन बाध्य पार्नुभयो । तपाईंहरू कुर्सीमा बसेर लडाइँ गर्न तल्लीन हुनुहुन्छ, तर यो देशको माटो खोस्रो भइसकेको थाहा छ ?

म सरकारलाई हारगुहार गर्दै सोध्न चाहन्छु, म कहिले आफ्नै देश फर्केर रोजगारी पाउने दिन देख्छु ? म कहिले छोराछोरीसँग आफ्नै घरमा बसी रमाउन सक्छु ? म र मेरो जस्तै लाखौं नेपालीले कहिले आफ्नै देशमा सम्मान र सुरक्षित जीवन जिउन पाउनेछौं ? यो चिठी मेरो मात्रै होइन, लाखौं परदेशी नेपालीको पीडाको आवाज हो । कृपया युवाशक्ति र उनीहरूको भावना बुझ्न सक्ने नीति ल्याउनुहोस् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully