देशमा शान्ति सुरक्षाको अमनचयन भएको सरकारी दाबी गरिन्छ । तर यथार्थले त्यो दाबीलाई खण्डन गर्छ ।
ऊर्जामन्त्रीकै असुरक्षा, पूर्वमुख्यमन्त्रीमाथि भएको आक्रमण र अदालत परिसरभित्रै वकिल कुटिने घटनाले सरकारको शान्ति सुरक्षा प्रभावकारी छ भन्ने दाबीलाई काट्दैन र ? जब मन्त्री नै सुरक्षित छैनन् भने सर्वसाधारण जनताको सुरक्षाको स्थिति कस्तो होला ? यसरी राजनीतिकर्मीमाथि हुने आक्रमण र कानुनका संवाहक वकिलमाथि हुने हिंसाले के देखाउँछ भने देशको राजनीति अपराधमय हुँदै गएको छ । यस्तो अवस्थामा जनताले न्याय, सुरक्षा र नेतृत्वप्रतिको विश्वास गुमाउँदै गइरहेका छन् ।
राजनीतिकर्मीले यी घटनालाई गम्भीर रूपमा लिनुपर्छ र आफ्ना कमजोरी सुधार्न अग्रसर हुनुपर्छ । जनतामाथि गरिएको अन्याय, भ्रष्टाचार र असन्तोषको बीउले एक दिन उग्र रूप लिन सक्छ । जब जनताको धैर्य सकिन्छ, तब त्यही आक्रोश शक्तिशाली आँधीबेहरी बन्छ, जसलाई रोक्न नेतृत्व शक्तिहीन हुन सक्छ । नेताहरूले आफूलाई मात्रै होइन, जनताको सुरक्षाको प्रत्याभूति दिनुपर्नेछ । अन्यथा, पछुताउनुको विकल्प रहँदैन । जनताको अधिकारमाथि खेलबाड गर्नु र सत्ताको दुरुपयोग गर्नु आफैंलाई खाडलमा धकेल्नु हो भन्ने कुरा बिर्सनु हुँदैन । अब समय छ— आफ्ना कार्यशैलीलाई सुधारेर जनताको आवाजलाई सम्बोधन गर्ने, अन्यथा जनताको जागरणले पुरानो अनुहारका सबै जालोलाई चुँडालेर नयाँ अध्याय सुरु गर्नेछ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
