छेउछेउ लागेर बिस्तारै हिँडिएको छघोसे मुन्टो लगाई बिस्तारै बोलिएको छजति रिसाउँछन् रिसाउन दिएरआफू त चुपचाप सहेर बसिएको छ
सबै ठूलैठूला र मान्यवर छन् यहाँ
जे गरून् जे भनून् ‘हो हजुर’ भनिएको छ
सबै जना थाहा पाउने जान्ने नै जान्ने छन्
आफू त जानेकै कुरामा पनि नजान्ने बनिएको छ
उनका हावादारी गफ र गलत कुरा पत्याएर
हाम्रा त सत्य कुरा पनि थन्क्याएर राखिएको छ
आफ्नो त भाग्य नै रहेछ उनीहरूका लागि
माला चढाइएको छ, ताली पड्काइएको छ
काम बिगार्नेहरूलाई नै मालिक मानेर
हामी त जे भने पनि आज्ञाकारी बनिएको छ
परोपकार सम्झेर सारालाई मोज गर्न दिँदै
बोक्नै नसक्ने गरी ऋणको भारी बोकिएको छ
यति गर्दा पनि पो हामी नै दोषी ठानिएर
भएभरका अर्ती उपदेश दिनदिनै सुनिएको छ ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
