एमालेमा आन्तरिक लोकतन्त्रको प्रश्न

पुस २२, २०८१

पाठक पत्र

The question of internal democracy in UML

काठमाडौँ — लोकतन्त्रमा पार्टीहरूको बैठकमा उठ्ने मुद्दा त्यो पार्टीको मात्र सरोकारको विषय हुन सक्दैन । त्यस्ता बैठकका एजेन्डा, छलफलको निर्णयले आम जनताको जीवनमा पनि प्रभाव पार्छ, र नै जनताको चासो रहने गर्छ ।

एमालेले सरकार सञ्चालनदेखि संगठन विस्तारसम्मको विषयलाई यसपालिको केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाएको छ । तथापि हालै एमालेले भीम रावललगायत ३ नेतामाथि गरेको कारबाही र त्यसबारे बैठकमा कुरा उठ्छ कि उठ्दैन भनेर आममानिसले चासोपूर्वक हेरिरहेका छन् ।

पार्टी निष्कासनपछि रावलले नेतृत्वप्रति उठाएको सवालले एमालेको आन्तरिक लोकतन्त्र प्रश्नको घेरामा आएको छ । जसलाई अहिलेको बैठकले कुनै सम्बोधन नगर्ने हो भने वास्तवमै एमालेमा आन्तरिक लोकतन्त्र रहेनछ, केवल केपी शर्मा ओलीको डर, त्रास र स्टालिनवादी सोच मात्र रहेछ भन्ने सन्देश जानेछ । 

जायज कुरा बोल्दा पनि कारबाही गर्ने हो भने कसैले जायज कुरा बोल्ने हिम्मत नै गर्दैन । जसले पार्टीलाई कमजोर बनाउँछ । पार्टी निर्माणमा ओलीजत्तिकै योगदान दिएका भीम रावललाई पार्टीमा बस्नै नदिएर कारबाही गर्ने हो भने भोलि उनीजस्ता अरू को नेता बाँकी रहलान् ? भीम रावल जस्तो प्रखर राष्ट्रवादी र इमानदार छवि बोकेका नेतालाई समेत एमाले ठाउँ दिएन । रावलको निष्कासन र बिन्दा पाण्डेहरूको निलम्बन प्रकरणले केपी ओली रहेसम्म एमालेभित्र स्वस्थ आलोचनाको कुनै ठाउँ छैन भन्ने देखिएको छ । यो एमालेको लोकतान्त्रिक छविमा कालो धब्बा लगाउने काम हो । 

भीम रावल, धनश्याम भुसाललगायत १० भाइले ओलीको कार्यशैलीको विरोध गरेका थिए, उनीहरूलाई त्यही बेलादेखि नै पाखा लगाउन थालिएको थियो । ओलीको प्रतिशोधपूर्ण यस्तो शैलीले एमालेभित्र आन्तरिक लोकतन्त्र संकुचित हुँदै गएको बुझ्न सकिन्छ । के उनी एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीको मोडलमा लान चाहन्छन् ? उनको यस्तो व्यवहार नरोकिने हो भने एमालेको इतिहास र लोकतान्त्रिक चरित्र अझ कलंकित बन्नेछ । जुन बेला माधव नेपाल एमालेको नेतृत्वमा थिए, ओली पार्टीभित्र प्रतिपक्षी भूमिकामा थिए ।

त्यो बेला ओली पार्टीभित्र विरोध र आलोचना गर्न पाउनु हरेक कार्यकर्ताको अधिकार रहेको ठान्थे र घण्टौं बैठकहरूमा बोल्थे । तर आज नेतृत्वमा पुग्नासाथ स्वस्थ आलोचना पनि सुन्नै नसक्ने अवस्थामा पुगेका छन् । अहिले त उनी अरूको कुरा सुन्न मात्र होइन नेपालमा कम्युनिस्टहरूको एकता हुनुपर्छ भन्ने शब्दसमेत सुन्न चाहँदैनन् । ओलीपछिका नेताहरूले उनको यस्तो कार्यशैली कहिलेसम्म टुलुटुलु हेरेर बस्ने ?

– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully