श्रमिकलाई चर्को भाडाको अर्को बोझ

पुस २२, २०८१

पाठक पत्र

Another burden of high wages on workers

काठमाडौँ — वैदेशिक रोजगारमा जाने श्रमिकको जहाज भाडा अत्यधिक बढेको छ । किन, कसले के प्रयोजनका लागि बढायो, थाहा छैन । स्वदेशमा रोजगार छैन, विदेश जान पनि सर्वसुलभ छैन, कसरी बाँच्ने जनता ? वैदेशिक रोजगारमा जाने श्रमिकलाई पहिला म्यानपावर कम्पनीले लुटेका छन्, त्यसपछि जहाजको भाडामा लुटेका छन् । त्यति हुँदाहुँदै विदेशमा गएपछि एउटा भनेर अर्का काममा लगाउँछन्, त्यहाँ पनि नेपाली लुटिएका छन् । यो लुटको शृंखला कहिलेसम्म ?

अन्तर्राष्ट्रिय उडानको भाडा अत्यधिक बढेकाले कतिपय श्रमिक भारत गएर त्यहींबाट गन्तव्य मुलुक जान थालेका छन् । किनभने नेपालबाट भन्दा भारतबाट उड्दा आधा मूल्यमा टिकट पाइन्छ । तिनै श्रमिकले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । हरेक मन्त्रीले आफ्नो मन्त्रालय राम्रोसँग सम्हाल्ने हो भने समस्या नै आउँदैन ।

उड्डयनसँग सम्बन्धित यस्ता समस्यामा सोही मन्त्रालयका मन्त्रीले पहलकदमी लिनुपर्ने होइन र ? यहाँ त आफ्नो जिम्मेवारीप्रति कोही सचेत छैनन्, अरूलाई दोष लगाउने– आफू माखो नमार्ने प्रवृत्ति छ । हवाई टिकटको महँगी घटाउन सरकारले पहल थाल्नुपर्छ । अढाई महिनायता १० हजार नेपालीले भारतीय विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा गएको भन्ने समाचार नै आएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले भाडा नबढाउन पाँचबुँदे सहमति गरे पनि ट्राभल एजेन्सीहरूले मनलागी भाडा बढाएका छन् । खै अनुगमन, नियमन गर्ने निकायको उपस्थिति ? भारतको बाटो भएर विदेश जानु नेपाल र नेपालीका लागि राम्रो होइन, यो विषयमा किन चर्चा चल्दैन ? सरकारले जनताको न्यूनतम समस्या पनि हल गर्न सक्दैन भने सरकार भएको र नभएको फरक के पर्‍यो ? 

– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully