काठमाडौँ — जापानलाई संसारकै सम्पन्न र प्रगतिशील देश मानिन्छ, तर यहाँका सामाजिक र सांस्कृतिक पक्षले गहिरो असन्तोष ल्याएको छ । जापानिजहरूले घरमा खाना कमै खाने, परिवारसँग समय नबिताउने र एकअर्कासँगको आत्मीयता कम महसुस गर्ने प्रवृत्ति देखिन्छ ।
परिवारभित्रको सम्बन्ध कमजोर हुनु, एक्लोपन महसुस गर्नु र व्यक्तिगत जीवनलाई महत्त्व दिनु यहाँको सामाजिक चुनौती हो । युवापुस्ता विशेष गरी घरजम गर्ने र पारिवारिक जीवन बनाउने सोचबाट टाढिएका छन् । यस्तो अवस्थामा समाज यन्त्रवत् देखिन्छ, जहाँ मानिसहरूको बीचमा आत्मिक सम्बन्ध भन्दा भौतिक विकासलाई प्राथमिकता दिइएको छ ।
नेपाल भने यसको पूर्णतः उल्टो छ । नेपाली समाज धर्म, संस्कार र आपसी सहानुभूतिमा आधारित छ । यहाँका रीतिरिवाजले मानिसलाई एउटा बाँधमा बाँधेको छ, जसले परिवार र समाजलाई बलियो बनाएको छ । नेपालमा ‘सामाजिक जीवन’ भन्ने कुरा केवल शब्दमा सीमित छैन, यो मानिसहरूको दैनिकीमा अभिन्न रूपमा जोडिएको छ । पाप र धर्मको ज्ञान, दया र करुणाको भावना र आपसी सहयोगले नेपाली समाजलाई सभ्य र संस्कारयुक्त बनाएको छ ।
जापानमा भौतिक संरचनाको विकास उत्कर्षमा पुगेको छ, तर आत्मिक शान्ति भने हराएको जस्तो लाग्छ । यहाँ कसैलाई कसैको मतलब छैन । फुर्सदको समयमा मानिसहरू रेस्टुरेन्ट, बार, पचिङ पार्लर र क्यासिनोमा जाने प्रचलन छ । पारिवारिक सम्बन्धको अभाव र एक्लोपनको समस्या यहाँ गम्भीर छ । भौतिक सुखको पराकाष्ठा भए पनि आत्मिक सन्तोष पाउन नसक्नु जापानको गहिरो अँध्यारो पक्ष हो । नेपाल, देश गरिब भए पनि आत्मिक सुखको दृष्टिले स्वर्गसमान छ । नेपाली समाजको आपसी स्नेह र सहयोगको भावना संसारमै बिरलै पाइन्छ ।
पारिवारिक जीवनको महत्त्व, धार्मिक विश्वास र सांस्कृतिक गतिविधिले नेपाली जीवनशैलीलाई सजीव बनाएको छ । जापानले नेपालबाट सिक्नुपर्ने कुरा आत्मिक शान्ति र सन्तोष हो भने, नेपालले जापानबाट भौतिक विकासका पाठ सिक्न सक्छ । तर अन्ततः समाजको सच्चा विकास आत्मिक सन्तोषमा निर्भर गर्छ, जसमा नेपाल जापानभन्दा धेरै अघि छ ।
सन्तोष सिम्खडा,टोकियो जापान
