प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ‘मान्छे खुवाएर बाघ पाल्न सकिन्न’ भन्ने अभिव्यक्ति अपरिपक्क लाग्यो । देशको जिम्मेवार पदमा बसेको व्यक्तिको यस्तो अभिव्यक्तिले बाघ संरक्षणमा नेपालले गरेको योगदानलाई कमजोर बनाएको छ ।
‘साइटिस’ र ‘ग्लोबल टाइगर रिकभरी प्रोग्राम’ जस्ता अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर र प्रतिबद्धता गरेको नेपाल जैविक विविधता संरक्षणमा प्रतिबद्ध भएर लागिरहेको छ । यस प्रकारको धारणा व्यक्त गर्दा नेपालले जैविक संरक्षणको क्षेत्रमा कम प्राथमिकता दिएको भन्ने सन्देश जान सक्छ, जसले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पार्न सक्छ । बाघ पारिस्थितिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रजाति हो । यदि बाघ लोप भएमा सिकार जनावरहरूको अत्यधिक वृद्धिले वनस्पति विनाश र कृषिमा असर गर्नेछ, जसले मानव जीवनमै नकारात्मक प्रभाव पार्न सक्छ ।
बाघ नेपालमा पर्यटनको प्रमुख आकर्षण पनि हुन् । बाघ अवलोकनका लागि आउने पर्यटकहरूले नेपाललाई ठूलो आर्थिक लाभ पुर्याउने गर्छन् । बाघ संरक्षणलाई बेवास्ता गर्दा पर्यावरणीय सन्तुलन मात्र होइन, पर्यटन र यससँग सम्बन्धित स्थानीय अर्थतन्त्रलाई पनि ठूलो असर पुग्न सक्छ । यसको सट्टा, मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्न प्रभावकारी उपाय अपनाउनुपर्छ । वन्यजन्तु कोरिडोरको निर्माण, पीडित परिवारलाई क्षतिपूर्ति योजना र जनचेतना कार्यक्रम सञ्चालनजस्ता प्रयासले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्न सकिन्छ । मानव जीवनको सुरक्षा महत्त्वपूर्ण भए पनि बाघजस्ता लोपोन्मुख प्रजातिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । जैविक विविधता संरक्षण र मानव हितको सन्तुलित दृष्टिकोणले मात्र नेपालले आफ्नो अन्तर्राष्ट्रिय छविलाई मजबुत बनाउन सकिन्छ ।
– जयराम चापागाई, नागार्जुन–५, सीतापाइला, काठमाडौं
