कृषि एवं अन्य उद्योग व्यवसाय धाराशायी बन्दै गएका कारण आयातमूखी अर्थतन्त्र नेपालको परिचायक बनेको छ । पहिलेदेखि जीविकाको मुख्य आधार कृषि र पशुपालन भए पनि अब यी व्यवसायबाट सर्वसाधारण पूर्णतः पलायन हुन बाध्य छन् ।
पहिले हिमालदेखि तराईसम्म मौसमअनुसारको खेती गर्ने प्रचलन रहँदा मुलुक सर्वत्र हराभरा देखिन्थ्यो, जैविक कृषि उत्पादन प्रयोगले नागरिकको स्वास्थ्यमा नकारात्मक असर पर्दैनथ्यो । त्यतिबेला नेपालका धेरै कृषि उपज भारतलगायत अन्य मुलुकमा निर्यात हुन्थ्यो भन्दा यो सबैलाई सपनाजस्तो लाग्न सक्छ । तर, खुराफाती राजनीतिले मुलुकका ठूला उद्योग, कलकारखाना तहसनहस बनेको यथार्थ दोहोर्याइरहनु पर्दैन ।
मुलुकलाई टेवा दिने दुई खम्बा गर्लम्मै ढलेपछि अब हामीलाई त्राण दिने क्षेत्र पर्यटन उद्योग नै हो । हुन त पछिल्लो समय सूचना प्रविधिको विकासले पनि अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको छ, तर गाउँगाउँका जनतालाई यसले प्रत्यक्ष असर पार्न सक्दैन । पर्यटन प्रवर्द्धनको कुरा गर्ने हो भने अनेक सोच, विचारधारा बोक्ने विश्वका मानिसलाई आकर्षित पार्न विविधताले भरिएको हाम्रोजस्तो अनुपम देश अन्यत्र भेट्न सकिँदैन । धर्म, संस्कार, कला, साहित्य, भाषा, प्राकृतिक सौन्दर्यदेखि मानिसको बोलीचाली, रहनसहनसम्म अन्तर्राष्ट्रियजगत्का निम्ति कौतूहलको विषय बन्दै आएको छ । साहसिक यात्रा, पर्वतीय दौड प्रतियोगिता, बन्जी जम्प, पैदलयात्रा, पाराग्लाइडिङ, र्याफ्टिङ, साइक्लिङजस्ता खेल गतिविधिले विश्वमा नेपालको पहिचान बढेको छ भने हिन्दु र बौद्ध धर्मावलम्बीका निम्ति सातवटै प्रदेश उत्कृष्ट देखिन्छन् ।
उता हिमालतिरको विषय उठाउँदा विश्वका १० मध्ये ८ वटा अग्ला हिमशिखरका धनी हामीले उचित प्रचारप्रसारबाट पर्यटकको ओइरो लगाउने क्षमता बोकेका छौं । त्यस्तै हिमालदेखि तराईसम्म देखिने जलवायु, नदीनाला र प्राकृतिक सौन्दर्य पर्यटकका निम्ति अद्वितीय सावित भएका छन् । प्रकृतिको यति ठूलो उपहार पाएर पनि हामी स्विट्जरल्यान्ड र जापानको फुजी पहाडको गफ गरेर थाक्दैनौं । सरकार, पर्यटन व्यवसायी, सरोकारवाला मिलेर पर्यटकीय स्थलहरूको पहिचान गरी नेपाललाई पर्यटनमय बनाउने दिन कहिले आउला ?
– भुवनेश्वर शर्मा, बोस्टन, अमेरिका
