पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले २०४६ सालयताका सबै नेता, कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाउँदै आएका छन् । त्यसका लागि आफू पनि तयार रहेको उनले बताइसकेका छन् ।
उनले भनेजस्तै सरकारी ओहोदामा बस्ने सबै तह–तप्काका व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ । अहिलेसम्म कुनै पनि नेताले बोल्न आँट नगरेको कुरा भट्टराईले गरेका छन् । के नेताहरू कमाउनकै लागि राजनीतिमा आएका हुन् र ?
भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर बारम्बार भाषण गर्ने अनि भ्रष्टाचारीलाई संरक्षण गर्ने नेताको दोहोरो चरित्रको अन्त्य हुनुपर्छ । हिजो राजधानीमा आउँदा चप्पल लगाएर फुटपाथमा मकै टोक्दै हिँड्ने व्यक्तिले कसरी आलिसान घर बनाएका छन्, कसरी त्यो सम्भव भयो, छानबिनको विषय बन्नुपर्छ । सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लागेको छ, उनको संसद् पद निलम्बनमा परेको छ । अदालतले उनको पक्षमा फैसला गर्ला नगर्ला, त्यो पछिको कुरा हो ।
सरकारलाई प्रश्न छ, के यो देशमा एउटा रवि मात्र त्यस्ता पात्र हुन्, जसले भ्रष्टाचार गरेर सम्पत्ति कमाएका छन् ? उनी मात्र होइन, सहकारी ठगीमा मुछिएका अन्य नेता, तिनका परिवारका साथै अन्य भ्रष्टाचार प्रकरणमा जोडिएका नेतामाथि अविलम्ब छानबिन अगाडि बढाउनुपर्छ । जनतालाई करमाथि कर थोपरेर नेताहरूले मस्ती गर्ने अवस्थाको अन्त्य हुनुपर्छ । राजनीतिक आग्रह पूर्वाग्रह नराखी भ्रष्टाचारी जो भए पनि कानुनअनुसार कारबाही गर्नपर्छ । राजनीतिको आडमा जसले जे गर्दा हुने अवस्था आएकाले देशमा भ्रष्टाचार बढेको हो । यसरी देशमा नेतादेखि कर्मचारीसम्मको सम्पत्ति छानबिनपछि दोषीलाई कारबाही गर्ने हो भने भ्रष्टाचार ५० प्रतिशत कम भएर जान्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौ
