प्रधानमन्त्री केपी शर्मा ओलीले हालै व्यक्त गरेको ‘बाघलाई उपहार दिने’ भनाइले जनमानसमा धेरै प्रश्न खडा गरेको छ । एक जिम्मेवार नेतृत्वदायी व्यक्तित्वका रूपमा तपाईंका हरेक अभिव्यक्ति गम्भीर र विचारशील हुनुपर्ने हो ।
तर, यस्तो गैरजिम्मेवार र हलुका अभिव्यक्तिले जनतामा असन्तोष मात्रै पैदा गर्छ । यसले नेपालको जैविक विविधता संरक्षणका प्रयासप्रति पनि ठूलो प्रश्न उठाएको छ । के हामीले युवालाई श्रमको नाममा विदेश पठाउँदै देशका गाउँ रित्तो बनाएर पनि पाठ सिकेनौं ? अब बाघलाई उपहार दिएर जंगल पनि रित्तो बनाउने सोचाइ किन ? नेपालले बाघ संरक्षणमा विश्वमा एक उदाहरणीय छवि बनाएको छ ।
संकटापन्न प्रजातिको रूपमा बाघको संख्या बढाउन नेपालले गरेको प्रयास सराहनीय छ । यसका लागि अनेकौं अन्तर्राष्ट्रिय मञ्चले नेपाललाई प्रशंसा गरेका छन् । यस्तो अवस्थामा ‘बाघलाई उपहार दिनु’ जस्तो विचार प्रस्तुत गर्नुले हाम्रो नैतिक जिम्मेवारीलाई कमजोर बनाउँछ । जैविक विविधताको संरक्षण कुनै पनि देशको पहिचान र सम्पत्तिको अभिन्न हिस्सा हो । यसलाई हलुका रूपमा लिने कामले हाम्रो पहिचानमाथि आँच पुर्याउँछ ।
वैदेशिक रोजगारीका नाममा लाखौं युवा विदेश पठाएर देशको श्रमशक्ति गुमाउने क्रम रोक्न हामीले ठोस नीति ल्याउन सकेका छैनौं । ग्रामीण क्षेत्र युवाविहीन बन्दै गइरहेका छन् । यस्तो अवस्थामा अब जंगल रित्तो पार्ने प्रस्ताव गर्नु केवल हावादारी गफभन्दा केही हुँदैन । देशभित्र नै रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र जैविक विविधता संरक्षणलाई समृद्धिको स्रोत बनाउनेतर्फ सोच्नु सरकारको प्राथमिकता हुनुपर्छ । प्रधानमन्त्रीज्यू, तपाईंका हरेक शब्द र कामले नेतृत्वको जिम्मेवारी झल्किनुपर्छ । जनतालाई गम्भीरतापूर्वक सोच्न र सरकारप्रतिको विश्वास बलियो बनाउन अभिव्यक्ति सन्तुलित र तथ्यमा आधारित हुनु आवश्यक छ । यस्ता सस्ता गफले नेतृत्वको उचाइ घटाउँछ । कृपया, देशलाई समृद्धिको बाटोमा डोर्याउन ठोस योजना र कार्यान्वयनमा ध्यान दिनुस् ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
