गत शुक्रबारको कान्तिपुरमा नेपाली कांग्रेसका पात्र र प्रवृत्तिबारे जैनेन्द्र जीवनको विचार पढ्न पाइयो । उनको लेखप्रति अधिकांशतः सहमत हुँदाहुँदै पनि केही कुरामा भने सहमत हुन सकिएन ।
गिरिजाबाबुको पालामा लिइएको उदार अर्थनीतिका केही उपलब्धिबारे त लेखमा चर्चा गरिएको छ तर त्यही उदार अर्थनीतिको खोल ओडेर मित्रराष्ट्रहरूले बनाइदिएका समेत देशका प्रमुख उद्योग कलकारखाना धराशायी बनाइयो । यो कटु यथार्थ आमनेपाली जनमानसले बिर्सेका छैनन्, कांग्रेसीजन र आफूलाई अर्थविद् भनाउन रुचाउने केही व्यक्तिले बिर्से पनि । कतिसम्म पनि सुन्नमा आएको थियो भने कांग्रेसद्वारा भारत र अमेरिकालाई खुसी पार्न कम्युनिस्ट राष्ट्र (विशेष गरी चीन र रुस) बाट प्राप्त भएका उद्योगलाई उदार अर्थनीतिको निसाना बनाइएको थियो । तसर्थ उक्त उदार अर्थनीतिका कतिपय उज्ज्यालो पाटो भए पनि अँध्यारो पाटो पनि कम छैन ।
२०५१ सालमा सुविधाजनक बहुमतको सरकार हुँदाहुँदै संसद् विघटन गरी मध्यावधि चुनावमा जानु गिरिजाबाबुको महाभूल थियो । जसलाई गणेशमानजीले ‘हिमालयन ब्लन्डर’ भनेका थिए । वास्तवमा त्यो हिमालय जत्तिकै ठूलो अक्षम्य गल्ती थियो । त्यही घटनादेखि नेपालको राजनीति लिकबाट उछिट्टिएको रेलगाडीजस्तो भएको हो, जसले अहिलेसम्म पनि भरपर्दो र विश्वासिलो किसिमले लिक समात्न सकेको देखिँदैन । गिरिजाबाबुको अर्को ठूलो गल्ती प्रचण्डले आफूलाई देशको पहिलो राष्ट्रपति बनाइदिने हरियो घाँस देखाएर सजिलैसित ‘युज एन्ड थ्रो’ गर्न लागेको पत्तो नपाउनु हो । त्यो चालको पत्तो पाउन नसक्नुको मुख्य कारण तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाजस्ता कुटिल कांग्रेसीलाई चाहिनेभन्दा बढी विश्वास गर्नु नै थियो । लेखको अन्त्यमा वृद्ध नेताहरूले युवानेतालाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने लेखकको विचारमा असहमत हुन सकिँदैन । तर, युवानेता भनेर चिनिएकाहरू पनि नेपाली समाजमा प्रचलित ‘आस गर्नु, भर नपर्नु’ भन्ने भनाइसँग मेल खाने खालका भएकाले ढुक्क हुन सकिने अवस्था देखिँदैन ।
– श्रीरामसिंह बस्नेत, वनस्थली, काठमाडौं
