कसैले देश त्यत्तिकै छाड्दैन रिजालज्यू !

पुस ११, २०८१

पाठक पत्र

काठमाडौँ — मीनेन्द्र रिजालज्यू, तपाईंले एउटा कार्यक्रममा भन्नुभएको कुराले मेरो मन छोयो । तपाईंले भनेझैं आजको युवा वर्ग आफ्नो भविष्य खोज्न देश छोड्दै छन् । उनीहरूले आफ्नो देशमा भविष्य देख्न छाडेका तपाईंको भनाइ छ । मैले आफैं त्यस्तो परिस्थितिको सामना गरेको छु । तर, मान्छेले देश त्यत्तिकै छाड्दैन ।

मैले पनि एकपटक सोचेको थिएँ– नेपालमै बसेर बिहान सन्तानको हात समाउँदै स्कुल पुर्‍याउन सकूँ, साँझ उनीहरूको हाँसोमा आफ्नो दिनको थकान बिर्सन पाऊँ । जति दुःख परे पनि, हाड घोटेर भए पनि छोराछोरीलाई उज्यालो भविष्य दिन सकूँ । तर त्यो सपना मात्र रह्यो ।

मेरी श्रीमतीले आँसु पिउँदै देशको माटो, सन्तानको साथ र हाम्रो परिवारको खुसीलाई पछाडि छोडेर विदेश हिँडिन् । मलाई पनि त्यसपछिका धेरै दिन देशले राख्न सकेन । दुई वर्ष नपुग्दै विवश भएर विदेशतिर लागेँ । मैले छोराको पहिलो पाइला हेर्न सकिनँ ।

छोरीले बाबुको हात समाएर स्कुल जान सिक्दा म परदेशको कडा भूमिमा आफ्नो बाँच्नुपर्ने संघर्षले थिचिरहेको थिएँ । हरेक रात निदाउनुअघि उनीहरूको अनुहार मानसपटलमा आउँछ । उनीहरूको सम्झनाले आँखा रसाउँछ, तर परदेशी बाबुको पीडामा कसले मलम लगाइदिने ?

तपाईंले भनेजस्तै आज लाखौं नेपाली युवा, जो कहिल्यै आफ्नो देश छाड्न चाहँदैनथे, आफ्नो भविष्य खोज्न विवश छन् । सपना त देशमै देखेका थिए– अग्ला हिमालको छायामा, हरियो फाँटको काखमा । तर हाम्रा देशका नेता र शासकको ‘कुशासन’ ले हाम्रो सपना ध्वस्त पारिदियो । ३५ वर्षदेखि कांग्रेस र एमालेका नेताहरूले देशका लागि के गरेका छन् ?

भ्रष्टाचार, अनियमितता, सत्ताको खेल, दण्डहीनताको शृंखला मात्रै चलिरहेको छ । रोजगारीका लागि कसैले सोचेनन्, परिमाणतः युवा विदेश जान बाध्य छन् । नेताहरूका भाषण मिठा लाग्छन्, तर तिनको कार्य गन्हाउने भएको छ । उनीहरू मलाई देशका शासकजस्तो लाग्दैनन्, उनीहरू कुर्सीको व्यापार गर्न थालेका छन् । गाउँ युवाविहीन छन् अनि सहर अस्थिर । परदेशीको जिन्दगी दुई पाटामा विभाजित हुन्छ । एउटा पाटोमा परिवारप्रतिको माया छ, जुन दिनहुँ टाढिँदै गएको छ । अर्को पाटोमा देशको भविष्य उज्यालो बनाउनेछ, जुन अधुरो छ ।

तपाईंले भनेजस्तै यदि देशका शासकहरूले परदेशीको आँसु बुझेका भए, उनीहरूले आफ्नो जिम्मेवारी निभाउन थाल्थे । जिम्मेवारी हामी सबैको हो– देशमा रोजगारी सिर्जना गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र युवालाई देशमै राख्ने वातावरण बनाउन सामूहिक आवाज उठाउने । हामीलाई हाम्रो देशको भविष्य उज्यालो बनाउने अवसर चाहिन्छ । हाम्रा सन्तानलाई हाम्रै माटोमा हाँस्ने र खुसीका साथ बाँच्ने अधिकार छ ।

– सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully