कान्तिपुरमा पुस ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको लेख ‘ज्ञान, बुद्धि, मति र साँचो मानिस’ प्रकाशन भएको रहेछ । लेख बौद्धिक र शिक्षाप्रद छ । आजका दिनसम्म आर्थिक, भौतिकलगायत थुप्रै क्षेत्रको विकासमा हामीले गर्नुपर्नै जति उन्नति हासिल गर्न सकेका छैनौं ।
त्यसैगरी परम्परादेखि चल्दै आएका संस्कृति, सम्पदा, वातावरण लगायतका अवयव तथा सयौं मातृभाषा संकटमा छन् । देशको शिक्षा र स्वास्थ्य क्षेत्र दयनीय छ । हामीले भन्ने गरेको राज्यको मूल अंग राजनीति हो । यो पनि दिन प्रतिदिन विकृत हुँदै गएकाले आमजनता निराश छन् । न राजनीतिले शिक्षा र देश सुधार्न सक्यो न शिक्षाले राजनीति । त्यही कारण समाजमा अपेक्षित सुधार ल्याउन सकिएन । समयक्रममा विकृति र विसंगतिले जरा गाड्दै गएको छ । विमानस्थलमा बिदेसिने युवा नेपालीको लर्को देखिन्छ । तिनलाई आफ्नो देशमा केही गर्न सकिन्छ भनेर सपना–विपना केही देखाउन सकिएको छैन । यिनै कारण हामी केही पछाडि पर्यौं तर महागरिब भने छैनौं । गर्न खोज्दा नसकेको, शिक्षाले नसिकाएको, राजनीतिले ठिक बाटो नसमातेको मात्र हो ।
प्रधानमन्त्रीले लेखमा भन्न खोजेको पनि यस्तै कुरा हो कि जस्तो लाग्छ । त्यसैले अब पहिला शिक्षा सुधार गरौं अनि राजनीति । त्यसपछि बिस्तारै सबैतिर उन्नति हुन थाल्नेछ । हामीले अहिले भन्ने गरेको शिक्षा त शिक्षा नै होइन रहेछ । यसको रूपान्तरण आवश्यक छ । घोकन्ते, अरूको नक्कलमा आधारित तथा अनावश्यक प्रतिस्पर्धा गराउने व्यापारमुखी शिक्षा आजको पहिलो समस्या हो भने भागबन्डा र माफियाकरणको दलदलमा फसेका दलका केही नेताका हचुवा तथा अदूरदर्शी राज्य सञ्चालनशैली दोस्रो समस्या हो । गहन ज्ञान, आँट र दूरदर्शिता भएको तपाईं र अर्को ठूलो दलका नेता शेरबहादुर देउवाको सहकार्य भएको यो ऐतिहासिक बेलामा आँट्ने हो भने समृद्धिको यात्रा असम्भव छैन ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ
