काठमाडौँ — कान्तिपुरमा सोमबार प्रकाशित लेख ‘आमसञ्चारबिनाको लोकतन्त्रको भविष्य’ मार्फत अच्युत वाग्लेले सोसल मिडियाले चलिआएका आमसञ्चार माध्यमलाई धरापमा पारिरहेको र यसले लोकतन्त्रको भविष्य संकटमा पर्न जाने चिन्ता व्यक्त गरेका छन् ।
झट्ट हेर्दा यो चिन्ता अस्वाभाविक होइन तर यसमा चिन्ता मात्र गरिरहनुको कुनै तुक छैन । किनकि सोसल मिडिया २१ औं शताब्दीको अकल्पनीय प्राविधिक विकासको प्रतिफल हो । यसले ल्याएका सकारात्मक, नकारात्मक दुवै प्रभावलाई समाजले स्वीकार नगरी सुखै छैन । त्यसैले प्रविधि समस्या होइन, मुख्य समस्या प्रवृत्तिको हो । आज आमसञ्चार मात्र होइन डिजिटल प्रविधिले अरू धेरै परम्परागत पेसा, व्यवसाय प्रभावित भएका छन् ।
पुस्तौंदेखि चल्दै आएका फोटो स्टुडियो अहिले कता पुगे ? मोबाइल फोनको प्रचलन आएपछि घरघरमा रहेका ल्यान्डलाइन फोन अहिले कुन अवस्थामा छ, सबैलाई थाहै छ । जहाँसम्म छापा माध्यम बन्द भएको प्रश्न छ, नेपालमा पञ्चायतकालभरि संघर्ष गरेर चलिरहेका पत्रपत्रिका बहुदल आएपछि किन मासिए ? बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनाकै लागि राज्यसत्तासँग पौंठेजोरी खेल्दै प्रकाशित भइरहेका पत्रिका त्यो ‘मिसन’ पूरा भएपछि झन् फस्टाउनुपर्नेमा बन्द हुनु एउटा ट्राजेडी थिएन र ?
के त्यसप्रति नयाँ सत्ताधारीले कहिल्यै चासो दिए ? आज सोसल मिडियाले पहिलेका मिडियालाई विस्थापित गर्दै छन् भने सोसल मिडियालाई पनि विस्थापित गर्ने अर्को मिडिया पक्कै आउनेछ र आउने क्रममा छ । नयाँले पुरानालाई विस्थापित गर्नु प्राकृतिक नियम नै हो । लोकतन्त्रको कुरा गर्ने हो भने लोकतन्त्रको भविष्यबारे भन्दा यसको वर्तमानबारे चिन्ता गर्नु अति जरुरी छ । के अहिले लोकतन्त्रका नाममा नेपालमा र अन्यत्रसमेत जे जे भइरहेका छन्, त्यो नै वास्तविक लोकतन्त्र हो त ? यस्तो कथित लोकतन्त्रलाई आमसञ्चारले जोगाउन सकेन भने कुनै दुःख मान्नु आवश्यक छैन ।
– श्रीरामसिंह बस्नेत, वनस्थली, काठमाडौं
