कार्यालय समयमा सार्वजनिक गाडी जब यात्रु लिएर नयाँ बानेश्वरको बसस्टप पुग्छन्, यात्रुहरू ओर्लने र चढ्ने कार्य सकिएपछि पनि गाडी धेरैबेर त्यहीं रोकिन्छन् ।
यसका कारण सार्वजनिक गाडीमा चढेका यात्रु समयमै गन्तव्यमा पुग्न भ्याउँदैनन् । ट्राफिक प्रहरीले त्यस क्षेत्रतिर ड्युटी निभाए तापनि थोरै संख्यामा मात्र हुने हुँदा रोकिएका सार्वजनिक गाडीलाई तुरुन्तै त्यहाँबाट जान र भीडभाड नगर्न सक्रिय रूपले लाग्नुपर्छ । यसैले नयाँ बानेश्वरको बसस्टप, जहाँ कोटेश्वरबाट आएर रोकिएका तथा माइतीघरबाट आएर पनि रोकिएका सार्वजनिक गाडीलाई धेरै बेरसम्म रोकिन नदिई तुरुन्तै अगाडि बढाउन कमसेकम ३–४ जना ट्राफिक प्रहरीको आवश्यकता देखिन्छ । सम्बन्धित निकायको ध्यान यस विषयमा तुरुन्तै जाओस् ।
– बोधनाथ पौडेल, नयाँ बानेश्वर, काठमाडौं
