प्रचण्ड नेतृत्वको माओवादीमा रहँदा निकै प्रभावशाली र आक्रामक नेताका रूपमा चिनिने नेता हुन्, नेत्रविक्रम चन्द ‘विप्लव’ ।
२०६९ असारमा प्रचण्ड र बाबुराम भट्टराईसँग विद्रोह गर्दै मोहन वैद्यले पार्टी फुटाएपछि उतै लागेका विप्लवले त्यहाँबाट पनि आफ्नो मिसन पूरा नहुने देखेपछि २०७१ मंसिरमा आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । राजनीतिक वृत्तमा उनको दल नेकपाका नामले चिनिए पनि निर्वाचन आयोगमा उक्त दल अहिलेसम्म दर्ता छैन । यद्यपि आगामी २०८४ सालमा हुने आमनिर्वाचनमा सहभागी हुने गरी अब उक्त दलले आयोगमा दल दर्ता गराउने प्रक्रिया अघि बढाएको बुझिएको छ ।
तत्कालीन संसदीय पद्धतिविरुद्ध असहमति जनाउँदै युद्धमा होमिएको दलको एउटा घटकले संविधान जारी भएपछिको वर्तमान संसदीय पद्धतिमा पनि असन्तुष्टि नै जनाइरहेको छ । अतः नेकपाले निर्वाचनमार्फत यही संसदीय पद्धतिमा सहभागी हुने मार्ग तय गर्न खोज्दै छ । दसवर्षे युद्धबाट शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा सहभागी भएको संयुक्त माओवादीबाट अलग भएपछि न त वैद्य नेतृत्वको माओवादी नै कुनै निर्वाचनमा सहभागी भएको छ न विप्लव नेतृृत्वको नेकपा नै । आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गरेर भूमिगत भएको नेकपाले वैद्यको नेतृत्वमा रहेर पनि क्रान्तिकारी बन्न नसकिने भनी गरेको आकलनमा कुनै सुधार ल्याउन सकेन अन्ततः ऊ पनि २०६२/०६३ मा शान्ति प्रक्रियामा आएको माओवादी जस्तै गरी पुनः शान्ति प्रक्रियामा आयो । अहिले उक्त पार्टी विभिन्न दलसँगको समाजवादी मोर्चामा समेत आबद्ध छ । आफ्नो माउ पार्टी नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको पर्खाइमा रहेको विप्लव नेतृत्वको नेकपाले राजनीतिका साथै कृषि र औद्योगिक क्षेत्रमा पनि हात हालेको र उक्त क्षेत्रमा उसले सफलता हात पार्दै गएको भन्ने सुनिँदै आइएको छ । यो सुखद र सकारात्मक पक्ष मात्र नभएर अन्य दलका लागि सन्देश पनि हुन सक्छ ।
राजनीति गर्नेको दिनचर्या भनेको नै कि त जनताका माझमा जाने कि सत्तामा रजगज गर्ने हो । नेकपा अहिले सत्तामा मात्र होइन प्रतिपक्षमा समेत नभएकाले उसले जनतामा चिनिनका लागि विविध उपायको खोजी गरिरहेको जस्तो देखिन्छ । यदि उक्त दल पनि सत्तामा या संसद्मा भएको भए त्यतैको आयआर्जनबाट आफ्नो गुजारा चलाइरहेको हुन्थ्यो होला । जसरी प्रचण्ड सरकारमा रहुन्जेल उनले जनतालाई चिनेनन्, यदि प्रचण्डको ठाउँमा विप्लव हुन्थे भने उनको पनि त्यही अवस्था हुने थियो भनेर नकार्न सकिन्न । किनकि लामो समयदेखि क्रान्तिमै समय खर्चिएका उनले यतिका समय किन यो विधिको अवलम्बन गरेनन् र अहिले सबै विकल्पको अन्त्य भएपछि यसलाई अपनाए ? यदि प्रचण्ड, वैद्यको नेतृत्वमा रहँदा उनको विचारलाई अगाडि आउन नेतृत्वले नदिएको हो भने पनि उनी आफैंले एउटा पार्टीको नेतृत्व गरेको नै एक दशक पुगिसकेको छ ।
आफूले पार्टीको नेतृत्व गरेदेखि नै अहिलेको विचारलाई अगाडि ल्याएर कृषि र औद्योगिकलगायत यस्तै अन्य प्रक्रियालाई अवलम्बन गरेको भए आज उनको उचाइ निकै माथि पुग्न पनि सक्ने थियो । उनले पनि प्रचण्ड, वैद्यले जस्तै क्रान्तिबाटै आफ्नो मिसन पूरा हुने देखेरै दोहोर्याइ दोहोर्याइ त्यही बाटो हिँड्न खोजेका हुन् र पुनः त्यो बाटोबाट गन्तव्यमा पुग्न नसक्ने देखेर नै उनी ब्याक भएर एउटा नयाँ बाटोमा यात्रा गर्न लागेका हुन् । आगामी दिनमा उनले पनि बिस्तारै संसद् हुँदै सत्ताको बाटोतर्फ पनि पाइला चाल्न खोजेको देखिन्छ । यदि उनी र उनको दलले त्यो बाटोमा पनि यात्रा तय गर्न थाल्यो भने अहिले सफलताउन्मुख हुँदै गरेको कृषि र औद्योगिक क्रान्तिको त्यहीं अन्त्य नहोला भन्न सकिन्न । किनकि राजनीतिक दलले सत्ताका लागि आफ्नै मतदातासमेत भुल्ने गरेको नेपाली जनतालाई स्पष्ट नै छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
