काठमाडौँ — कान्तिपुरमा मंसिर ३० गते प्रकाशित गोपाल खनालको लेख ‘चीनमा देखिएको राष्ट्रिय शक्ति’ ले सकारात्मक राष्ट्रिय नीतिलाई चरितार्थ गरिदिएको छ ।
दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सुझबुझपूर्ण आन्तरिक गृहकार्यले जुटाइदिएको सहमति र अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको हितलाई प्राथमिकतामा राखी छिमेकी देशसँगको सम्झौता अत्यन्त जिम्मेवारीपूर्ण देखिएको छ । भनिन्छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् आफू जन्मेको देश स्वर्गभन्दा पनि प्यारो हुन्छ । त्यसैले नेताहरूले आफ्नो देशको हितमा रहेर काम गर्नु उपयुक्त हुन्छ ।
अन्य देशको भ्रमण गर्दा पनि साझा दस्ताबेजको संरचनाभित्र बसेर द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई अघि बढाउनुपर्छ । जब सरकार बलियो हुन्छ, आत्मविश्वास हुन्छ तब मात्र सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकीलगायत समग्र वैदेशिक शक्तिसँग अडानसहित सम्झौता गर्न सक्छ । त्यसैले सरकारमा बस्ने व्यक्ति अभिभावक हुन्, दूरगामी हुनुपर्छ । उनीहरूले अभिभावकत्व निर्वाह गर्न कदापि चुक्नु हुँदैन ।
– जयराम चापागार्इं, नागार्जुन–५, काठमाडौं
