पत्रकार महासंघमा महिला नेतृत्वको सन्देश

पुस २, २०८१

पाठक पत्र

A message from women's leadership in the Federation of Journalists

काठमाडौँ — नेपाली पत्रकारिताको इतिहासमा बल्ल नेपाल पत्रकार महासंघले महिला नेतृत्व पाएको छ । राज्यका अन्य अंगहरूमा यसभन्दा अघि नै महिलाले नेतृत्व पाइसकेका छन् ।

अमेरिकामा आजसम्म महिलाले राष्ट्रपति हुने मौका नपाए पनि नेपालमा महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख भइसकेका छन् । त्यस अर्थमा नेपाली महिलाले गर्वको महसुस गर्न सक्ने अवस्था छ । पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित निर्मला शर्माले त्यो गर्विलो इतिहासमा अर्को इँटा थप्ने काम गरेकी छन् । त्यस अर्थमा उनी बधाईको पात्र छिन् । 

उनी महिला भएर मात्र महासंघ अध्यक्ष बनेकी भने होइनन् । उनमा योग्यता पनि थियो, जसले उनलाई प्रतिस्पर्धी उम्मेदवारभन्दा अब्बल बनायो र नै विजयी हुन पुगिन् । उनको विजयमा अर्को पनि एक प्रमुख कारण छ, त्यो हो सत्तारूढ दलहरूको समर्थन । जितको यो प्रमुख कारण भए पनि एउटा व्यावसायिक पत्रकारका लागि दलीय छाप पक्कै पनि उचित होइन, हँॅुदैन । एउटा पत्रकारमा दलको छाप लाग्नु भनेको ऊ निष्पक्ष हुन सक्दैन, उसका समाचार, लेख रचनामा निष्पक्षीयताको आशा गर्न सकिँदैन भन्ने सन्देश जान्छ ।

दलीय आबद्धता रहेका पत्रकारले जतिसुकै निष्पक्ष रूपमा रिपोर्टिङ गरे पनि त्यसमा सधैं शंका जीवित रहन्छ । पाठक र जनताको विश्वास जित्न पनि पत्रकार र पत्रकारका संस्था सधैं स्वतन्त्र रहन सक्नुपर्छ । स्वतन्त्र अस्तित्व रहनुपर्ने पत्रकार महासंघ, बार एसोसिएसन, न्यायिक निकाय, प्रहरी प्रशासन, संवैधानिक निकायमा दलको छाया परेमा त्यो संस्थाप्रति जनताको विश्वास बिस्तारै कम हँॅदै जान्छ ।

जनविश्वास जित्न पनि दलको छायाबाट पत्रकार र पत्रकार महासंघ मुक्त हुनुपर्छ । शर्मा जत्तिको अब्बल पत्रकारले चुनाव जित्नकै लागि सत्तारूढ दल निकटका प्रेस चौतारी र प्रेस युनियनको सहयोग लिनुको साटो स्वतन्त्र उम्मेदवार बनेको भए कद अझ उँचो हुन्थ्यो । 

– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully