शेखर–गगन जुध्ने कि मिल्ने ?

पुस १, २०८१

पाठक पत्र

Will Shekhar-Gagan fight or meet?

काठमाडौँ — आफ्नो पार्टीको विधानअनुसार हिँड्ने हो भने कांग्रेसले १५ औं महाधिवेशन अबको ठिक एक वर्षभित्र गर्नुपर्छ । तर, नेतृत्वको चालामाला हेर्दा तोकिएको समयमै महाधिवेशन हुने कुनै छाँटकाँट देखिएको छैन ।

विधानले विशेष परिस्थितिमा एक वर्षपछि धकेल्ने सुविधा दिएको हुँदा अरूले जस्तै पार्टी सभापति शेरबहादुर देउवाले पनि एक वर्ष धकेल्न सक्छन् । किनकि आफू प्रधानमन्त्री हुनुअघि नै पार्टी सभापति अरू बनेमा भोलिका दिन उनै नयाँ सभापति, दलको नेता बनेर प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षामा ठेस लाग्न सक्ने डर देउवामा छ ।

त्यसकारण पनि देउवाले २०८२ मै महाधिवेशन गराउलान् भन्ने कुनै आस र आधार छैन । तथापि अब विधानले नै देउवालाई सभापति बन्न रोक्ने हुँदा उनी नेतृत्वमा आउन सक्दैनन् । तर आफ्नो मान्छे ल्याउन भने देउवालाई कसैले छेक्न सक्दैन । देउवाको सबैभन्दा निकट मान्छे भनेकै पत्नी आरजु हुन् । तर उनको पार्टीभित्रै ठूलो द्वन्द्व निम्तिने भएकाले आउने महाधिवेशनमा आरजुलाई उपसभापति वा उपमहामन्त्रीमा ल्याउने प्रयन्त देउवाबाट हुन सक्छ ।

१४ औं महाधिवेशनमा देउवानिकट मानिएका पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहमध्ये एक देउवाको रुचिको पात्र बन्न सक्छन् । तथापि अहिलेसम्म देउवाले आफ्नो मुख खोलेका छैनन् । अहिले देउवाको सम्पूर्ण शक्ति शेखर कोइराला र गगन थापाबीच फाटो उत्पन्न गर्नतिर लागेको छ । जसमा केही मात्रामा उनी सफल पनि भएका छन् ।

कहिले शेखरलाई च्यापेर गगनलाई पर हुत्याउँछन् त कहिले गगनलाई च्यापेर शेखरमाथि डर पैदा गराउँछन् । देउवाको समर्थनले भाबी सभापति बनुँला कि भन्ने आशामा गगनले हिजोआज थुप्रै गल्ती गरेका छन् । सत्यकुरा साहसपूर्वक बोल्न सकिरहेका छैनन्, चाहे त्यो गिरीबन्धुको कुरा होस् या एमालेले विवादास्पद व्यापारीबाट पार्टी भवन बनाउन लिएको अवैध दानकै कुरा । 

शेखरले पनि गल्ती गरिरहेका छन् । किनकि उनले आफू पार्टी सभापतिमा लड्ने त बताइरहेका छन् तर प्रधानमन्त्री पद गगनलाई दिनेछु भन्ने साहस गरिरहेका छैनन् । दुवै पद आफैं राख्छु भन्ने भावमा अगाडि बढ्दा नै गगनले उनीसँगको दूरी बढाउँदै लगेको मौका बुझ्न सकिन्छ ।

यही मौकामा देउवाले खेलिरहेका छन् । शेखर र गगनबीच एक–एक पद बाँड्ने सहमति हुनासाथ अहिले सतहमा देखिएको विवाद आफैं मत्थर हुन्छ । तर त्यसका लागि दुवै तयार हुनुपर्छ । मनमुटाव बढेर दुवै जनाले सभापतिमै प्रतिस्पर्धा गरेमा दुवैको पराजय भई देउवाको मान्छे सभापतिमा आउनेछन् । त्यो बेला शेखर–गगनले पश्चाताप गर्नुबाहेक केही गर्न सक्दैनन् । जुन दिनदेखि गगन संसदीय दलको नेतामा देउवाबाट नराम्रोसँग पराजित भए, त्यसै दिनदेखि उनमा एक प्रकारको निराशा आएजस्तो देखिन्छ ।

देउवा समूहको साथ र सहयोग नपाइने हो भने भाबी पार्टी सभापति वा प्रधानमन्त्री बन्न सकिन्न कि भन्ने डरले उनको मनमा घर गर्‍यो । अनि बिस्तारै उनी सम्झौतावादी बन्न थाले । किनकि उनलाई डर लाग्यो, केही बोल्दा देउवा वा ओली रिसाउलान् र भाबी पार्टी सभापति बन्न नपाइएला । तसर्थ कांग्रेस पार्टीलाई बलियो बनाउनका लागि शेखर–गगन मिल्नुको विकल्प देखिँदैन ।

– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं 

पाठक

Link copied successfully