पत्रकारिता कि राजनीति ?

मंसिर ३०, २०८१

पाठक पत्र

Journalism or politics?

पत्रकारिता एउटा पवित्र पेसा हो, जसको मूल उद्देश्य जनतालाई सत्य, तथ्य र निष्पक्ष जानकारी दिनु हो । पत्रकारहरू राज्यको चौथो अंगका रूपमा चिनिन्छन्, जसले सरकार, समाज र शक्तिका स्रोतलाई निगरानी गर्दै जनताको पक्षमा आवाज उठाउँछन् ।

तर नेपालमा अहिले पत्रकारिता आफ्नो मूलधारबाट विचलित भइरहेको छ । पत्रकारहरूले राजनीतिक दलका एजेन्डामा समाहित भएर, आफ्नै पेसाको आधारभूत मूल्य र सिद्धान्तलाई कमजोर बनाइरहेका छन् । पत्रकारको संगठन र चुनावलाई हेर्दा एउटा प्रश्नले सताउँछ— किन पत्रकारिताको साझा उद्देश्यमा आधारित एउटै संगठन बन्न सकेन ? प्रेस चौतारी, नेपाल प्रेस युनियन, प्रेस सेन्टरजस्ता संगठन राजनीतिक दलसँग प्रत्यक्ष जोडिएका छन् । यी संगठनले पत्रकारिताभन्दा पार्टीका स्वार्थमा बढी रुचि राखेका देखिन्छन् । फलस्वरूप, पत्रकारिता जसले सत्यको पक्षमा निर्भीक भएर उभिनुपर्ने हो, त्यही कलमले दलगत प्रचारमा मात्र सीमित रहनुपरेको छ । पत्रकारको काम त निष्पक्ष रहनु हो, तर अहिलेका पत्रकार कोही चुनाव लडेर हार्छन्, कोही दलका प्रचार समितिमा सक्रिय हुन्छन्, अन्त्यमा आफैंलाई ‘पत्रकार’ भन्दै निर्दोष बन्न खोज्छन् । यस्तो दोहोरो चरित्रले जनताको विश्वास गुमाउने मात्र होइन, सूचनाको क्षेत्रमा गम्भीर गञ्जागोल सिर्जना गरेको छ । जनतालाई सत्यतथ्य पस्किने माध्यममै जब विश्वास घट्छ, तब समाजमा झूटो सूचना र अफवाह फैलन थाल्छ । यो केवल पत्रकारको असफलता होइन, लोकतन्त्रका लागि नै घातक हो ।

नेपालमा राजनीति, पत्रकारिता र अन्य पेसागत क्षेत्र मूल कर्तव्यबाट विचलित भइरहेका छन् । सुरक्षाकर्मीले गुन्डागर्दी गर्न थालेका छन्, डाक्टर र वकिलले राजनीति गरिरहेका छन्, व्यापारीले दलाली गरिरहेका छन् । पत्रकारिताको यो गम्भीर संकटलाई समाधान गर्न दुई मुख्य कदम अनिवार्य छ । पहिलो, पत्रकारहरू कुनै पनि राजनीतिक दलबाट टाढै रहनुपर्छ । पत्रकारले राजनीतिक विचार राख्न सक्छ, तर सक्रिय राजनीति गर्ने ठाउँ पत्रकारिता होइन । दोस्रो, पत्रकारको संगठनलाई राजनीतिक प्रभावबाट मुक्त गरिनुपर्छ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ सबै पत्रकारको साझा बन्नुपर्छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully