'युद्ध पत्रकारदेखि स्काइडाइभिङसम्म’ शीर्षकको फिचर सम्बन्धमा

मंसिर २८, २०८१

पाठक पत्र

Regarding the feature titled 'From War Journalist to Skydiving'

काठमाडौँ — ‘युद्ध पत्रकारदेखि स्काइडाइभिङसम्म’ शीर्षकमा गत सोमबार प्रकाशित फिचरप्रति देखिएको सरोकारलाई कान्तिपुर सम्मान गर्दछ । सरोकार सम्बोधन गर्न कान्तिपुरले उक्त फिचरकी पात्र स्वयं सुजिता शाही, आफन्त र व्यावसायिक सहकर्मीहरूसँग सम्पर्क गरेको छ । यो सन्दर्भमा निम्न विषय स्पष्ट पार्न चाहन्छौं ।

१. सुजिता साहसी स्काइडाइभर भएको विषय उनले मात्र होइन, नेपालका स्थापित पर्यटन व्यवसायीहरूले पनि पुष्टि गरेका छन् । फिचर स्टोरीमा सुजिताले गत १९ नोभेम्बरमा पोखरामा ‘सोलोजम्प’ गरेको दाबी गरेकी छन् । पाटा नेपालका पूर्वअध्यक्ष तथा एभरेस्ट स्काइडाइभ कम्पनीका संस्थापक सुमन पाण्डेले पनि कान्तिपुरसँग भने, ‘उनले पहिले ट्यान्डम् (चालकको सहयोगमा) डाइभ गर्थिन्, तालिम गरेपछि यसपालि ‘सोलोजम्प’ गरेकी हुन् । २००८ देखि हामीले यो कम्पनी चलाएका छौं, हाम्रो कम्पनीबाट सोलो स्काइडाइभ गर्ने उनी पहिलो महिला हुन् ।

उनी आफूमात्र होइन, थुप्रै युरोपियनहरूलाई नेपाल लिएर आउँछिन् । आफू पनि रमाएकी छन्, नेपालको पयर्टन क्षेत्रलाई पनि गुन लगाएकी छन् ।’ सुजिताले आगामी वर्ष सगरमाथामा र डेनमार्कमा स्काइडाइभ गर्ने योजना रहेको दोहोर्‍याएकी छन् । पर्यटन बोर्डका अधिकारी तथा अन्य व्यवसायीले पनि सुजिताको प्रयास सराहनीय भएको भन्दै यसका लागि उनलाई हौसला दिनुपर्ने बताएका छन् ।

२. बाबु ब्रिटिस सेनामा भएकाले सुजिता पनि हङकङ गएको आफन्तले पुष्टि गरे । त्यतिबेला हङकङको भव्य टिङकाउ पुल बनिरहेको र त्यसको निर्माणको जिम्मा लिएको जर्मन कम्पनीका म्यानेजरसँग चिनजान, मित्रता र विवाहसँगै सुजिता जर्मनीमा बस्दै आएको उनीहरूको भनाइ छ ।

३. सुजिताले हङकङमा पत्रकारितामा स्नातकोत्तर गरेको, साउथ चाइना मर्निङ पोस्ट तथा स्टार टीभीमा प्रशिक्षार्थी तथा जर्मनीमा डीडब्लू र आरटीएल टीभीमा काम गरेको दाबी गरेकी थिइन् । पत्रकारिता अध्ययनका विषयमा उनको प्रस्टीकरण छ, ‘हो, मैले बाप्टिस्ट युनिभर्सिटीमा अध्ययन गरेकी हुँ ।’ कुनै पनि अन्तर्वार्ता गर्दा कुनै पात्रले मैले यति पढेको छु भनेपछि तपाईंको प्रमाणपत्र देखाउनुहोस् भन्ने अभ्यास हुँदैन । त्यस्तै ‘अन्डरकभर वार रिपोर्टर’ का रूपमा काम गरेको दाबी गरेकाले उनको बाइलाइन नभेटिने भनेर संवाददातालाई भनेकी थिइन् । तर पनि ‘वार रिपोर्टिङ’ को सन्दर्भ बुझाउने तस्बिरसहितका सामग्री माग्ने ठाउँ थियो जसले स्टोरीलाई अझ बलियो बनाउने थियो ।

त्यस्तै अफगानिस्तानमा अपहरणमा परेर छुटेको तथा अहिले कमान्डो फोर्समा रहेको दाबीमा पनि सार्वजनिक प्रश्न उठेपछि सन्दर्भ सामग्री माग्दा उनले व्यक्तिगत कारणले दिन नमिल्ने बताइन् । ‘अन्डरकभर जबका सामग्री न गुगलमा भेटिन्छन्, न तपाईंलाई दिन मिल्छ । तपार्इंसँग बोलेका र त्यसमा आएका टिप्पणीले नै मेरो जब संकटमा परिसकेको छ,’ उनको भनाइ छ । उनको भनाइ जे–जस्तो भए पनि स्वतन्त्र रूपमा पुष्टि हुन नसक्ने सन्दर्भ फिचरमा समावेश हुनु हुँदैनथ्यो भन्ने हाम्रो निष्कर्ष छ ।

४. सन् १९९० को दशकमा सुजिताले नेपालमा पत्रकारिता गरेको भने त्यो बेला प्रकाशित हुने रिभाइभल म्यागेजिनका प्रकाशक विकेश श्रेष्ठको भनाइ छ । ‘सुजिताको अंग्रेजी राम्रो थियो, मिहिनेती थिइन्, त्यसैले मैले कार्यकारी सम्पादकको जिम्मेवारी दिएको थिएँ । पछि उनी हङकङ गइन् । यता जनशक्ति जुटाउन सकिएन । म्यागेजिन बन्द भयो । तर, असल मान्छेका रूपमा उनलाई म अहिले पनि चिन्दछु ।’

५. कान्तिपुरको सम्पर्कमा आएका सबैजसो व्यक्तिहरूले सुजिता शाही व्यावसायिक, स्वावलम्बी र साहसी व्यक्ति हुन् भनी खुलेर प्रशंसा गरेका छन् । तर, निराशाले जकडिएको समाजमा सकारात्मक सन्देश दिने स्टोरी पस्कने क्रममा कतिपय स्वाभाविक जिज्ञासा सम्बोधन हुन नसकेको निष्कर्षसहित तथ्य परीक्षण प्रणालीलाई अझ सबल बनाउने प्रतिबद्धता व्यक्त गर्छौं ।
– प्रधानसम्पादक

पाठक पत्र

Link copied successfully