त्रिवि जग्गा अपचलनका थप तथ्य

मंसिर २८, २०८१

पाठक पत्र

More facts about the land misappropriation of the University

काठमाडौँ — कान्तिपुर दैनिकले जग्गा छानबिन तथा खोजबिन समितिको प्रतिवेदनका आधारमा त्रिविको जग्गा अपचलनमा त्रिविका पूर्वपदाधिकारीहरू नै दोषी रहेको खबर सार्वजनिक गरेकामा केही तथ्य थप गर्न मन लाग्यो । त्रिविको हालसम्म जे जति जग्गा छ, त्यो केही दाताले दिएको बाहेक अरू सबै नेपाल सरकारले अधिग्रहण गरेर उपलब्ध गराएको हो ।

त्यसमध्ये जे जति अपचलन भएको हो, त्यो त्रिविका पूर्वपदाधिकारीले मात्र निर्णय नगरेर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम अपचलन गरिएको तथ्य भने लुकाइएको छ । बागबानी केन्द्र, बीपी प्लानिटरियम, ल्याब स्कुल आदिलाई उपलब्ध गराइएको जग्गा के त्रिविका पूर्वपदाधिकारीको निर्णयले गरिएको हो वा सरकारको निर्णयबमोजिम उपलब्ध गराइएको हो ?

त्रिवि परिसरमा रहेको लायन्स ब्लड बैंक र महिला छात्रावाससहित नेपाल नेत्रज्योति संघलाई उपलब्ध गराइएको १४ रोपनी जग्गा र स्व. केदारमान व्यथितले आनन्दकुटी विद्यापीठमार्फत दान दिएको स्वयम्भूस्थित राष्ट्रिय संग्रहालय रहेको २१ रोपनी जग्गाबारे छानबिन समिति किन मौन रहनुपर्‍यो ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पालामा मन्त्रिपरिषद्कै निर्णयबमोजिम बल्खुमा रहेको त्रिविको ६० रोपनी जग्गा गणतन्त्र पार्कलाई उपलब्ध गराइएकामा त्रिविका पूर्वपदाधिकारीको अथक प्रयासबाट मन्त्रिपरिषद्बाटै निर्णय गराई त्रिविको नाममा फिर्ता ल्याइएको थियो ।

नेपाल प्राध्यापक संघलाई भवन बनाउने प्रयोजनका लागि ४ रोपनी जग्गा दिइएकामा संघले भवन निर्माण नगरी व्यापारिक उद्देश्य राखी टाटा सुमो पार्क निर्माण गर्न दिएकाले त्रिविका पूर्वपदाधिकारीकै सक्रियतामा तत्काल संघबाट फिर्ता ल्याइएको तथ्यचाहिँ किन लुकाइएको होला ? – धर्मकान्त बाँस्कोटा, काठमाडौं

पाठक पत्र

Link copied successfully