पाइप मर्मत तुरुन्त गरियोस्

मंसिर २७, २०८१

पाठक पत्र

The pipe should be repaired immediately

काठमाडौँ — पुरानै पाइपबाट काठमाडौंमा मेलम्चीको खानेपानी वितरण गर्दा ठाउँठाउँमा भेल बग्न थालेको छ । सडक हिलाम्मे हुँदा पैदलयात्रु तथा सवारीसाधनलाई आवतजावतमा असहज भइरहेको छ । सडक बिग्रेर ठाउँठाउँमा खाल्डा हुँदा रातको समयमा सवारीसाधन दुर्घटनामा पर्ने जोखिम पनि निम्तिएको छ । 

पिउने पानी सडकमा त्यत्तिकै खेर जाँदा उपभोक्ताले पर्याप्त पानी पाउन सकेका छैनन् । यसर्थ, सम्बन्धित निकायले छिटोभन्दा छिटो पाइपको मर्मत गर्नु जरुरी छ ।

– अच्युतमान सिंह प्रधान, बालुवाटार, काठमाडौं 

नेपालले अनुदानमा मात्र बीआरआई सम्झौता अघि बढाउने प्रस्ताव गरे पनि चीन तयार नभएपछि समाचारमा बताइएअनुसार द्विपक्षीय सम्झौतामा अनुदान वा ऋण दुवै विकल्प खुला राखेर सम्झौता गरिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसले अनुदानबाहेक नेपालले ऋण लिएर बीआरआई सम्झौता गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली ऋण लिएर लगानी नगर्ने वाचा गर्दै जम्बो टोलीसहित चीन भ्रमणमा गएका थिए ।

तर नेपाल र चीनका प्रतिनिधिबीच छलफलको अन्तिम चरणमा अडानलाई कमजोर बनाउँदै प्रधानमन्त्री ओलीले दुवै विकल्प राखेर दुवै पक्षबीच हस्ताक्षर भएपछि अब निर्माण सुरु हुने बीआरआई परियोजना अनुदानमा कि ऋणमा भन्ने प्रश्न उब्जिएको छ । सार्वजनिक तथ्यांकअनुसार नेपालको थाप्लोमा ऋण २५ खर्ब १८ अर्ब ५ करोड पुगेको देखिन्छ । एक नेपालीको थाप्लोमा ८३ हजारभन्दा बढी ऋण पर्न गएको छ ।

अझ यसमाथि बीआरआई परियोजनामा अनुदानमा नभई ऋणमै थप्दै जाने हो भने आर्थिक रूपमा देश टाट पल्टन बेर छैन । सार्वजनिक सम्पत्तिमा लुटधन्दा जमाउने, भ्रष्टाचारीलाई शीर्ष नेता र नेतृत्वले नै संरक्षण गर्दै जाने, धनाढ्य व्यापारीलाई कर मिनाहा गर्ने, उद्योगीको २२ अर्बभन्दा बढीको बिजुली बत्तीको शुल्क छुट गराउन खोज्दै जाने नेतृत्वबाट नै यस्तै हुँदै जाने हो भने भोलिको दिनमा नेपालको अवस्था कस्तो होला ? 

– तिलप्रसाद न्यौपाने, माछापोखरी, काठमाडौं

पाठक

Link copied successfully