काठमाडौँ — विदेश जाने नेपालीको सपना कस्तो हुन्छ ? सुन्दर जीवन, आर्थिक स्थायित्व र परिवारलाई सुखी बनाउने अभिलाषा । तर यी सपना पूरा गर्न परदेशमा पसिना मात्र होइन, आँसु र रगतसम्म बगाउनुपर्छ ।
विदेशको जीवन चकाचौंध लाग्न सक्छ, तर यसको वास्तविकता कठिन संघर्ष, थकित अनुहार र असंख्य त्यागले भरिएको छ । जापानजस्तो विकसित देशमा काम गर्न आइपुगेका नेपालीहरूको दिनचर्या कुनै पनि रोबोटको भन्दा कम हुँदैन ।
बिहानै काममा हतार, दिनभरि थकाइ, अनि राति कुलेलम ठोक्दै घर फर्कने थकित पाइला । ५० कटेका आमाहरूले होटलका बेड बनाउँदै पसिना बगाउँछन्, युवा विद्यार्थीले दिनभर स्कुल र रातभर भारी बोक्दै रात काट्छन् । सुपरमार्केटमा काम गर्ने पनि छन्, बेन्तोमा काम गर्नेहरूको संघर्ष पनि कम छैन । नेपाली रेस्टुरेन्टका कुक १२ घण्टे कामपछि पनि ठिक्क पाउने तलबले थकित जीवन धानिरहेका छन् ।
घरमा बस्नेहरूलाई परदेशको सुखद कल्पना छ । फेसबुकमा चम्किला फोटो र टिकटकका रमाइला भिडियोले परदेशलाई स्वर्गजस्तै देखाउँछन् । तर यी पोस्टमा लुकेको यथार्थ के हो भने— परदेशमा पैसा फल्ने कुनै बोट हुँदैन । दिन–रातको कठोर श्रमबाट जम्मा हुने पैसाले आफूले पनि खुसी मनाउन पाउँदैन, किनकि घरबाट आइफोन, गिफ्ट र महँगो सामानको अपेक्षा गरिन्छ ।
नेपालमा धेरै नेपालीको सपना काठमाडौंमा घर बनाउनु हो । परदेशमा दुःख गरेर जम्मा गरेको पैसा काठमाडौंको इँटा र सिमेन्टमा खर्च गर्ने लालसा नेपालीको साझा विशेषता हो । तर के नेपालको विकास काठमाडौंमै सीमित भएर सम्भव छ ? नेपालीले गाउँका बाँझा खेतबारी हराभरा बनाउने सपना देख्नुपर्छ ।
आजको युगमा नेपालीले विदेश गएर मात्रै होइन, आफ्नै देशमा केही गर्न सक्ने आत्मविश्वास जागृत गर्नुपर्छ । विदेशको यो दुःखद् यथार्थले हाम्रा भविष्यका सन्तानलाई विदेशी सपना देख्नबाट जोगाउनुपर्छ । गाउँमै हरियाली बनाउँदै, बाँझो खेतलाई हराभरा बनाउँदै र गाउँलाई नै सहर बनाउने सपना देख्न सकेमा नेपालीहरूको वास्तविक सफलता त्यही हुनेछ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
