काठमाडौँ — ठूला राजनीतिक दलको गठबन्धनमा सरकार बनेपछि जनताले आशा गरेका थिए, हाम्रा लागि विशेष राहतको व्यवस्था होला ।
तर, आमजनताको टड्कारो समस्या समाधान गर्नपट्टि लाग्नुपर्नेमा सत्ता भागबन्डा र सरकार जोगाउने खेलमा नेताहरू लागिरहेको देख्दा दुःख लागेको छ । यस्तै प्रवृत्ति हरेक सरकारमा देखिने हो भने लोकतन्त्र र गणतन्त्रको महसुस गर्न नेपाली जनताहरूले कति वर्ष कुर्नुपर्ने हो ? खालि यो गर्छु र त्यो गर्छु भनेर भाषण मात्र गर्ने कि जनताका लागि काम गर्ने ? गणतन्त्र ल्याउन जनताले बलिदानसमेत दिएका थिए, तर नेताहरू पदमा पुगेपछि सबैले बिर्सेछन् ।
सरकारले किन काम गर्न सकिरहेको छैन, अवरोध के हो भनेर सत्तारूढ दलले जनतालाई जवाफ दिनुपर्ने बेला भएन र ? महँगी, बेरोजगारी र भ्रष्टाचार बढ्दो छ । सरकारले भ्रष्टाचार अन्त्य गर्दै बेरोजगारीलाई काम दिनुपर्यो, महँगीलाई निगरानीका साथ नियन्त्रण गर्नुपर्यो । जनतालाई उत्पादनमूलक काममा लगाउने वातावरण राज्यले तयार गर्न सक्नुपर्छ ।
– बलराम थापा, कुश्लेचौर, क्षेत्रपाटी, काठमाडौं
