काठमाडौँ — लोकतान्त्रिक गणतन्त्र आएको डेढ दशक पूरा भयो । तर पनि हाम्रा सरकारी अस्पतालको हालत सुध्रिने छाँट देखिँदैन । अहिलेसम्म कति स्वास्थ्यमन्त्री आए, तिनले सरकारी अस्पताल सुधारका लागि के–के काम गरे ? ठ्क्याक्कै भन्न गाह्रो छ ।
बिहान चार बजेदेखि टिकट काट्नका लागि लाइन बस्नुपर्छ, टिकट काटेपछि डाक्टरलाई भेट्न त्यत्तिकै गाह्रो छ । सर्वसुलभ तरिकाले सरकारी अस्पतालमा सेवासुविधा पाइँदैन । आम सर्वसाधारणले यस्तो सास्ती कहिलेसम्म भोग्नुपर्ने हो ? कम्तीमा उच्च पदस्थ व्यक्तिले सरकारी अस्पतालमा उपचार गराउने हो भने त्यहाँको अवस्थाबारे थाहा पाउँथे कि !
सबै डाक्टर, नर्स खराब नहोलान् तर अधिकांशको व्यवहार राम्रो छैन । टिचिङ, वीरलगायत सरकारी स्वामित्वमा रहेका अस्पतालमा नियमन छैन, कर्मचारीले जे गर्दा पनि बिरामीले सहेर बस्नुपर्छ ।
डाक्टरको काम भनेको बिरामीलाई सही परामर्श दिने हो, तर कतिपय डाक्टर एकदमै छोटो समय लिन्छन् र झर्केर बोल्छन् । कम्तीमा आफूसँग आएका बिरामीको पूरा विवरण लिएर मिठो बोलीमा सही सल्लाह दिँदा के फरक पर्छ ?
डाक्टरको बोलीबाट आधा रोग निको हुन्छ भन्ने उनीहरूले नबुझेका कि बुझ पचाएका ? संविधानमै उल्लेख छ, सबै नागरिकले स्वास्थ्यसम्बन्धी न्यूनतम उपभोग गर्न पाउनुपर्छ । तर व्यवहारमा लागू हुन सकेन । जसका कारण हरेक दिन नागरिक स्वास्थ्यसम्बन्धी समस्याले ग्रसित छन् ।
वीर, कान्ति, टिचिङलगायतका अस्पतालबाहिर बिग्रेका उपकरण असरल्ल देखिन्छन् । मर्मत सम्भार गर्ने कुरै छैन, बरु कमिसनको लोभमा नयाँ खरिद गर्नेतिर लाग्ने प्रवृत्ति देखिन्छ । अहिलेका स्वास्थ्यमन्त्री त युवा नै हुनुहुन्छ, उहाँले यस्ता बेथितिमा बैलेमा ध्यान दिएर सरकारी अस्पतालको सुधारमा लाग्नुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
