पुनलाई राजनीतिमा ‘रजगज’ को धोको !

मंसिर २३, २०८१

पाठक पत्र

The deception of 'Rajgaj' in politics!

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेकै बेला दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएका छन् ।

संविधानतः राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई पुनः सक्रिय राजनीतिमा फर्कन कुनै बाधा नभए तापनि त्यस्ता व्यक्तिले आफूले प्राप्त गरेको पद र मर्यादाको बारेमा गम्भीर भएर सोच्नुपर्ने हो । तर सक्रिय राजनीतिमा रमाएर रजगज गर्ने धोको नपुगेर अझै पुरानै क्षेत्रमा फर्कन चाहनेले पहिल्यै राज्यले प्रदान गरेका उच्च पदस्थ पद नस्वीकारे हुने हो । देशका उच्च पदमा पुगिसकेका व्यक्ति फेरि राजनीतिमा फर्केर अब उनीहरूले प्राप्त गर्न चाहेको कुन पद हो ? पुनकै कुरा गर्ने हो भने उनले अब राष्ट्रपति बन्ने अपेक्षा राखेका हुन सक्छन् तर यदि भण्डारी पनि पुन जसरी नै सक्रिय राजनीतिमा आएमा उनको राजनीति केका लागि भन्ने प्रश्न उठ्न सक्छ ।

नन्दबहादुर पुन राजनीतिमा फर्कनुमा उनको स्वैच्छिक रुचि हो भनेर बुझ्नुभन्दा पनि उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चतुर्‍याइँले यो अवस्थामा ल्याएको हुन सक्छ भनेर अड्कल काट्न सकिन्छ । पार्टीभित्र आफ्नै निकटका भनिएकाहरूले बारम्बार प्रश्न उठाउन थालेपछि उनीहरूलाई साइजमा ल्याउन प्रचण्डले यो बाटो रोजेका हुन सक्छन् । कसले के भन्यो भन्दा पनि एउटा पदमा पुगिसकेको व्यक्तिले आफूलाई कसले कता डोर्‍याउँदै छ भनेर आफैंले ख्याल गर्नुपर्ने हो । तर पुनले त्यो कुराको हेक्का राखेको देखिएन । कुनै बेला प्रचण्ड नन्दबहादुर पुनका नेता हुन् तर समयले उनलाई प्रचण्डभन्दा माथिल्लो पदमा पुर्‍याइसकेको छ । अहिले पुनः आफूले पाएको त्यो सम्मान र मर्यादाको ख्याल नगरी अरूको स्वार्थका लागि आफूलाई कसैले उपयोग गर्दै छ भन्ने कुरा उपराष्ट्रपति भइसकेको व्यक्तिले बुझ्नुपर्ने हो । दस वर्ष सशस्त्र युद्धका क्रममा जनमुक्ति सेनाको डेपुटी कमान्डर भइसकेका र झन्डै साढे सात वर्ष राष्ट्रकै दोस्रो उच्च पदमा आसीन भइसकेको व्यक्तिलाई अब राजनीतिमा आएर केही पाउनुछ, केही प्राप्त गर्लान् भन्ने पनि देखिँदैन । उनलाई प्रचण्डले आफ्नै स्वार्थका लागि राजनीतिमा फर्कन प्रेरित गरिरहेका छन् र उनलाई साइडमा राखेर पार्टीमा आफूमाथि प्रश्न उठाउनेलाई खबरदारी गराउने माध्यम बनाउन खोजेका हुन् भन्ने भन्दा अरू कुनै कुरा देखिँदैन । पुनलाई अब राजनीति गरेर प्रधानमन्त्री बन्नुछ भने उनकै कुरा हो, होइन भने उनको सक्रिय राजनीतिले उनलाई भन्दा प्रचण्डलाई नै पार्टी अध्यक्षमा निरन्तरताको शृंखला हो भन्ने बुझ्न सकिन्छ ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक

Link copied successfully