मुलुकको राजधानी काठमाडौं सहर हरेक नेपालीको परिचयको आधार हो । विदेशी पाहुनाहरू पहिला काठमाडौं आएर नै देशका अन्य ठाउँमा जाने गर्छन् ।
धेरै त काठमाडौंबाटै फिर्ता हुन्छन् । उनीहरूले काठमाडौंलाई जे देखे त्यही नै नेपालप्रति उनीहरूको बुझाइ र भोगाइ बन्छ । त्यही नै विश्वसामु नेपाल र नेपालीको पहिचान बन्छ । तसर्थ, दिनानुदिन प्रदूषित बन्दै गइरहेको काठमाडौं सहरले जोसुकै नेपालीको पहिचानलाई दर्शाउँछ । यस सहरभित्रको अस्तव्यस्त बाटो, अव्यवस्थित बजार, हामीले गर्ने असहज व्यवहारले हाम्रा पाहुनालाई कदापि सकारात्मक सन्देश दिन सक्दैनन् । अझै, वर्षौंदेखि विस्तारको नाममा चाबहिलबाट नयाँ बसपार्क हुँदै कलंकीसम्मको चक्रपथको धुलाम्मे सडकले हाम्रा नेतृत्व वर्ग एवं देश निर्माणमा कम्मर कसेर लागेका जनप्रतिनिधि जोसुकैको शिर निहुराएको छ । यदि उनीहरूलाई किञ्चित पनि जनसरोकारप्रति चासो हुँदो हो त केन्द्र, प्रदेश वा स्थानीय सरकारले तदारुकतासाथ यो राष्ट्रिय महत्त्वको सडकको विस्तार र मर्मत भइसक्ने थियो ।
दातृ निकायको मात्रै अपेक्षा गरिएको हो भने प्रदूषणका कारण यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा पार्ने गम्झीर असरको जिम्मेवारी कसले लिने ? सम्बन्धित निकायले कहिलेसम्म नागरिकको स्वास्थ्यमा हेलचेत्र्याइँ गरिरहने ? मातहतका निकाय गैरजिम्मेवार बनिरहँदा तालुकदार निकाय कहिलेसम्म मूकदर्शक भइरहने ? जनसरोकारको यस गम्भीर विषयमा न्यायिक निकायको जवाफ के हुन सक्छ ? मुलुकको मुहार फेर्न नेतृत्व गर्नेहरूले पहिला राजधानीको मुहार फेर्ने कि ?
– मधुसुदन सिग्देल, काठमाडौं
