उपनिर्वाचनमा पुरानै दलको प्रभुत्व

मंसिर १९, २०८१

पाठक पत्र

Dominance of the old party in the by-elections

काठमाडौँ — हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनले राजनीतिक परिदृश्यमा परम्परागत दलहरूकै प्रभुत्व कायम रहेको देखाएको छ । कांग्रेस, माओवादी र एमालेले पुनः प्रमुख स्थान ओगटे पनि जनताको उल्लेख्य समर्थन प्राप्त गर्न असफल देखिन्छन् । मतदाताले परिवर्तनको संकेत दिए पनि नयाँ शक्तिहरूले सोचेअनुसारको प्रभाव छोड्न नसक्नुले निराशा थपेको छ । विशेषतः सहकारी विवादलगायतका मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्भावित सफलता सीमित तुल्यायो ।

माओवादीको पुनरुत्थानले राजनीतिक समीकरणमा नयाँ मोड ल्याएको छ । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा ललिता निवासलगायतका भ्रष्टाचार मुद्दालाई पुनः उठाएर पार्टीले आन्तरिक आत्मविश्वास र बाह्य समर्थन दुवै प्राप्त गरेको छ । यो घटनाले माओवादीमाथिको ‘अस्ताउँदै गएको शक्ति’ भन्ने भाष्यलाई चुनौती दिएको छ । तर, यो सफलताले पार्टीको दीर्घकालीन स्थायित्वको ग्यारेन्टी भने गर्दैन । काठमाडौंको–१६ वडामा रास्वपाले पाएको जितले सहरी क्षेत्रमा राजनीतिक परिदृश्य परिवर्तन हुन लागेको संकेत गरेको छ । 

परम्परागत दलप्रति असन्तुष्टि र नयाँ विकल्पप्रतिको आकर्षण स्पष्ट देखिन्छ । तथापि, रास्वपाको ग्रामीण क्षेत्रमा पकडको अभाव र सहकारी विवादले पार्टीको सम्भावनालाई खुम्च्याएको छ । ग्रामीण क्षेत्रमा भने गरिबी, बेरोजगारी र सीमित राजनीतिक चेतनास्तरका कारण परम्परागत दलको प्रभाव कायमै छ । मतदाताले पुराना सञ्जाल र पहुँचकै आधारमा मतदान गर्ने प्रवृत्ति देखाए । नयाँ शक्तिले गाउँस्तरमा संगठनात्मक विस्तार नगर्दासम्म ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउने सम्भावना न्यून देखिन्छ ।

समग्रमा, उपचुनावले नेपालमा विकल्पको अभाव र राजनीतिक स्थायित्वप्रतिको चुनौतीलाई प्रस्ट्याएको छ । परम्परागत दलले आफ्नो संगठनलाई पुनःसंरचना गर्नुपर्ने देखिन्छ भने नयाँ शक्तिले ठोस रणनीति र सुदृढ नेतृत्वको आवश्यकता बुझ्नुपर्छ । जनताको बदलिँदो चाहनालाई सम्बोधन गर्न नसके, राजनीतिक अस्थिरता अझै जारी रहने सम्भावना प्रबल छ ।

– सन्तोष सिम्खडा, टोकियो, जापान

स्थानीय तह उपनिर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हौसिए र माओवादीलाई जनताले २०६४ सालमै फर्काइदिएको भन्ने सपना देख्न थाले । ७ सय ५३ पालिकामध्येको जम्मा तीनवटा पालिकाको प्रमुखका लागि भएको निर्वाचनमा 

माओवादीले आफ्नो भागमा जम्मा एउटा पालिका मात्र पार्न सफल भयो भने ५ वटा उपाध्यक्ष/उपप्रमुख पदका लागि भएको निर्वाचनमा माओवादीले ३ पालिका आफ्नो पोल्टामा पार्न सफल भयो । उप जोडिएको पदमा माओवादीले बहुमत नै प्राप्त गर्न सक्यो । त्यसैगरी जम्मा ३४ वडाध्यक्षका लागि भएको निर्वाचनमा माओवादीले ८ वटा वडामा आफ्नो प्रभुत्व जमाउन सकेको हो ।

निर्वाचनको यतिमात्र परिणामलाई हेरेर माओवादी हौसिनुले के बुझिन्छ भने उसले राजनीतिमा आफूहरू नराम्ररी गिरिसकेको र अबका दिनमा राजनीतिमा टिक्न निकै कठिन हुने मूल्यांकन गरेको रहेछ । निर्वाचनको प्रतिस्पर्धामा नउत्रँदै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ मा माओवादीका वडाध्यक्ष पदका उम्मेदवार निर्विरोध निर्वाचित भएदेखि नै माओवादीले उपनिर्वाचनमा आफ्नो पार्टीको खाता खोलिसकेको थियो । सुरुवाती लक्षणले उसलाई राम्रै देखायो र नतिजा पनि त्यही किसिमको देखिन आयो । 

सधैं अरूको बैसाखी टेकेर निर्वाचनमा जाने गरेको माओवादी यस पटक एक्लै सहभागी भएकाले पनि आफ्नो वास्तविक मत प्राप्त गरेको भन्ने ठानेर हौसिएको हुन सक्छ । भर्खरै सम्पन्न भएको उपनिर्वाचन परिणामलाई देखाएर आगामी निर्वाचनमा मत माग्ने बाटो त माओवादीले पायो नै तर यतिले आगामी निर्वाचनमा पहिलो दल पक्का भनेर बस्यो भने त्यो पानीको फोका जस्तै हुनेछ । 

– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा 

पाठक पत्र

Link copied successfully