गहना व्यापारीको मनोमानी

मंसिर १८, २०८१

पाठक पत्र

A jeweler's whim

काठमाडौँ — सस्तो लिएर महँगोमा बेच्न पाउँदा कुनै पनि व्यापारी त्यसै खुसी हुन्छन् । व्यापारीलाई व्यापारमा कहिले घाटा, कहिलो नाफा स्वाभाविक हो । तर, सधैं सर्वसाधारणलाई बढी मूल्य असुलेर नाफा लिनु कदापि स्वाभाविक होइन । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ ।

भन्सार भाउ घटाउँदा सुनको मूल्य पनि घट्ने नै भयो । तर, भन्सार बढी भएका बेला बढी मूल्यमा सुन बिक्री गर्ने व्यापारीले अहिले किन अपारदर्शी ढंगले मनोमानी ज्याला–जर्तीको भाउ बढाइरहेका छन् ? यसरी दुई नम्बरी गर्ने व्यापारीलाई कारबाही गर्ने निकाय किन निष्क्रिय छ ?

भन्सार दर घटेअनुसार सर्वसाधारणले सस्तोमा सुन पाइने आशा राखेका थिए, तर व्यापारीले जर्ती र ज्याला भनेर महँगो मूल्य असुल्न थालेका छन् । जे गर्दा पनि सर्वसाधारण जनता नै ठगिनुपर्ने नेपालीको कस्तो नियति हो ? कस्तो छ यो देशको नियम कानुन ? व्यापार गर्न पाइन्छ तर व्यापारको नाउँमा सरासर ठगी गर्न कसैले पनि पाउँदैन । 

अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा सुनको भाउ ओरालो लागिरहेको छ, सरकारले पनि ५० प्रतिशत भन्सार दर घटायो । भन्सार घट्दा तोलामै १५ हजार रुपैयाँभन्दा बढीले मूल्य घट्यो पनि । तर, व्यापारीले सर्वसाधारणलाई राहतको महसुस हुनै दिएनन् । अनेक बहानामा भाउ बढाएर बेचिरहेका छन् । सुनको मात्र होइन हरेक वस्तुको मनलागी बजार भाउ छ, एउटै सामानको भाउ बजारैपिच्छे फरक छ । नियमन नियन्त्रण गर्ने निकायको मौनताले जनता ठगिने क्रम जारी छ । यो देशमा सर्वसाधारणको आवाज कसले सुन्ने ?

– पुरुषोत्तम घिमिरे,

जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully