सुदूरपश्चिमका मात्रिकालाई जवाफी पत्र

मंसिर ५, २०८१

पाठक पत्र

A letter in reply to Matrika of the Far West

काठमाडौँ — प्रिय मात्रिका,नेपालका धेरै बालबालिका तथा युवाले साझा रूपमा प्रस्तुत गरेका महत्त्वपूर्ण चासो र चिन्तालाई उठान गर्नुभएकामा तपाईंलाई धन्यवाद । विशेषगरी, विश्व बाल दिवस (नोभेम्बर २०) मनाइरहँदा जलवायु परिवर्तनले शिक्षा र स्वास्थ्यसहित बालबालिकाको जीवनलाई कसरी प्रभावित पारिरहेको छ भन्नेबारे तपाईंका विचारलाई हामीले गम्भीर रूपमा लिएका छौं ।

बालबालिकाका आवाज र अधिकारलाई विश्वभर जहाँ पनि प्रवर्धन गर्न समर्पित यस विशेष दिनमा तपाईंको पत्रले बालबालिका र युवालाई सुन्न तथा उनीहरूको भविष्य सुरक्षित गर्ने कार्य गर्न किन जरुरी छ भन्ने स्मरण गराउँछ । नेपाल सरकार र युनिसेफ तथा हाम्रा साझेदारहरू नेपालका बालबालिका स्वस्थ, सुरक्षित र जलवायु प्रतिरोधी छन् भनी सुनिश्चितताका लागि प्रमुख चुनौतीलाई सम्बोधन गर्न प्रतिबद्ध छन् ।

नेपालका तपाईं जस्ता बालबालिका र युवा जलवायु संकटको केन्द्रमा हुनुहुन्छ । युनिसेफको बालबालिकामा जलवायु जोखिमसम्बन्धी सूचकांकमा नेपाल १६३ देशमध्ये ५१ औं स्थानमा छ । यसले जलवायु सम्बन्धित खतरामा बालबालिका उच्च जोखिममा रहेको प्रस्ट पार्छ । यस जोखिमको सामना गर्नुपर्ने अवस्थाले उनीहरूको शिक्षामा बाधा पुर्‍याउँछ, स्वास्थ्य र पोषणलाई कमजोर बनाउँछ ।

उनीहरूको हुर्काइ र विकासका लागि आवश्यक सुरक्षित वातावरणमा सम्झौता गर्नुपर्ने अवस्था निम्त्याउँछ । यी जलवायु विशृंखलताको एकमुष्ट प्रभाव प्रारम्भिक बाल विकासको उमेरदेखि सुरु भई किशोरावस्था र त्यसभन्दा पछि पनि निरन्तर रहँदा तिनले जीवनभरको असफलता निम्त्याउनुका साथै सिंगो एउटा पुस्ताको भविष्य जोखिममा पार्न सक्छन् ।

जलवायु परिवर्तनका यी प्रभाव गहिरो गरी एकअर्कामा जोडिएका हुन्छन् । प्रत्येक प्रभावले अरू प्रभावलाई बढाइरहेका हुन्छन् र बालबालिकाका लागि जटिल चुनौती सिर्जना गर्छन् । बाढीका कारण हुने विस्थापन वा बाली नष्ट हुँदा आउने आर्थिक तनाव जस्ता जलवायु परिवर्तनका दबाबले विद्यालय शिक्षा र स्वास्थ्य सेवामा अवरोध पुर्‍याउँछ । बालश्रम, बालविवाह जस्ता अप्रिय रोजाइतर्फ परिवारलाई धकेल्नुका साथै शोषण र दुर्व्यवहारका जोखिमसमेत बालबालिकामा थप्न सक्छ । त्यसैकारण, जलवायु संकट मूल रूपमा बाल अधिकारको संकट हो । त्यसैले पछिल्ला केही महिनामा हामीले तपाईं जस्तै बालबालिका र युवासँग परामर्श गरिरहेका छौं ।

किनकि उनीहरूले तेस्रो चरणको राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी–३) सहितका जलवायु सम्बन्धमा तय गरिने क्रियाकलाप र नीतिहरूमा योगदान दिन चाहेका छन् । उनीहरूको आवाज सबल र प्रस्ट छ । हामीले दिगो भविष्य सुनिश्चित गर्न अब उनीहरूसँग काम गर्नैपर्छ । बालबालिका र युवाले पनि आफ्नो समुदाय, देश र विश्वका लागि उदाहरण प्रस्तुत गरेर प्रभावकारी समाधानको पैरवी गर्ने र वातावरणीय हिसाबले दिगो जीवनशैली प्रवर्धनमा सामर्थ्य प्रदर्शन गरेका छन् ।

जलवायु संकटले गम्भीर आर्थिक प्रभाव निरन्तर सिर्जना गर्छ । खासगरी, बालबालिका र सामाजिक क्षेत्रमा लगानी गर्न हामी चुक्यौं भने यस्ता प्रभाव निरन्तर देखिनेछ । आज न्यूनीकरणका पर्याप्त उपायबिना भोलि नेपालले वार्षिक रूपमा कुल गार्हस्थ उत्पादनको २.२ प्रतिशतको घाटा सामना गर्नुपर्ने हुन सक्छ ।

त्यसको अनुकूलनको खर्च लाखौं अमेरिकी डलर हुने सम्भवना रहन्छ । जलवायुसम्बन्धी क्रियाकलापमा गरिएको लगानीले प्रतिफल दिन्छ । युनिसेफको अनुमानअनुसार जलवायुसम्बन्धी अनुकूलनमा आज लगानी गरिएको प्रत्येक १ अमेरिकी डलरले भोलि १० अमेरिकी डलर बराबरको आर्थिक फाइदा उत्पन्न गर्नेछ ।

त्यसैले, जलवायु प्रतिरोधी सामाजिक सेवामा हामीले तत्कालै लगानी गर्न आवश्यक छ । स्वास्थ्य र पोषण, खानेपानी तथा सरसफाइ र शिक्षा एवम् सुरक्षा जस्ता बालबालिका र युवा भर पर्ने सेवालाई प्राथमिकतामा राख्नु हामीले गर्न सक्ने उत्तम लगानीमध्ये एक हो । सँगसँगै हामीले बालबालिका र युवालाई जलवायु शिक्षा र हरित सीपले सुसज्जित गर्नु, उनीहरूलाई जलवायु रक्षकका रूपमा सहभागी बनाउनु आवश्यक छ ।

अतः विचार र ऊर्जासहित हामी सबै मिलेर यस्तो प्रतिरोधी भविष्य निर्माण गर्न सक्छौं, जहाँ जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीका बीच पनि नेपाली बालबालिकाले सिक्‍न, हुर्कन र सफल हुन सक्छन् । हामी यही पत्रमार्फत तपाईं र नेपालका सम्पूर्ण बालबालिकामा विश्व बाल दिवसको शुभकामना पनि व्यक्त गर्छौं ।

– ऐनबहादुर शाही ठकुरी, मन्त्री, वन तथा वातावरण 

र एलिस अकुङ्गा, नेपालका लागि युनिसेफ प्रतिनिधि

पाठक

Link copied successfully