बालबालिकाका लागि बन्ने नीतिमा बालबालिकाको उपस्थिति अनिवार्य

मंसिर ४, २०८१

पाठक पत्र

The presence of children is mandatory in policies made for children

काठमाडौँ — म बालबालिकाको क्षेत्रमा चासो राख्ने विद्यार्थी हुँ । आज म नेपालको वर्तमान सन्दर्भमा बालबालिकामा जलवायु परिवर्तनको प्रभाव र भविष्यको चिन्ताबारे यो पत्र लेख्दै छु । 

जलवायु परिवर्तनका कारण नेपालमा विभिन्न प्राकृतिक प्रकोपहरू, जस्तै : बाढी, पहिरो, खडेरी, भारी वर्षा र तापमानको वृद्धिले बालबालिकाको स्वास्थ्य, शिक्षा र जीवनशैलीमा गम्भीर असर परिरहेको छ । 

नेपालको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय अध्ययनका अनुसार तापमान वार्षिक रूपमा ०.०५ देखि ०.०८ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ भने खडेरी, भारी वर्षा जस्ता प्रकोपहरू बढ्दै गएको छ । जसले गर्दा हिउँदे र मनसुनी वर्षा दुवैमा असामान्य परिवर्तन देखापरेको छ । 

उदाहरणका लागि उच्च तापक्रमका कारण तराईका कतिपय विद्यार्थीहरू विद्यालयमै बेहोस भइरहेका छन् । जस्तै : मेरै विद्यालयमा पनि प्रार्थना गर्ने समयमा (१० बजे) पनि विद्यार्थीहरू बेहोस हुने समस्या देखापरिरहेको छ ।

साथै यही वर्ष बर्खाको समयमा पनि सुदूरपश्चिमको महेन्द्रनगरमा आएको अविरल वर्षाका कारण थुप्रै विद्यालयहरू बन्द रहनुका साथै बालबालिकाले असहजता र अप्ठ्यारोको सामना गर्नुपरेको थियो । 

त्यसैगरी दुई वर्षयता धनगढी उपमहानगरपालिका र यस नजिकका पालिकाहरूले अत्यधिक गर्मीका कारण तीन–चार दिनसम्म विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । जसकारण विद्यार्थीहरूको पठनपाठनमा निकै चुनौती सिर्जना भइरहेका छन् ।

जस्तैः आफ्नो पढाइबाट वञ्चित रहनुपर्ने र समयमा पाठ्यक्रम पूरा नहुने समस्या र पहाडबाट पढाइका लागि तराई झरेका बालबालिका जो कोठा भाडामा लिएर बसेकालाई यसरी अचानक विद्यालय बन्द हुँदा साह्रै अप्ठ्यारो अवस्था सिर्जना हुन्छ । 

यस समस्या समाधानका लागि सरकार, युवासमूह र सम्बन्धित निकायहरू साथसाथै युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरू र सम्बन्धित निकायहरूको सक्रिय भूमिका महत्त्वपूर्ण हुनाका साथै बालबालिकाले आफूले भोगेका समस्याहरू समाधान गर्नका लागि सम्बन्धित निकायसम्म प्रस्तुत गर्न सक्नुपर्छ । आउँदै गरेको विश्व बालदिवसका अवसरमा बालबालिकामा आएका समस्या समाधान गर्नका लागि अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । 

नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्नका लागि दीर्घकालीन योजना र तत्कालीन राहतका कार्यक्रमहरू आवश्यक देखिन्छ । साथै बालबालिकाका लागि बन्ने वा बनेका नीति नियममा बालबालिकाको अनिवार्य उपस्थिति आवश्यक छ ।

हामी र हाम्रो भविष्यका कर्णधार बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न सबै तहबाट साझा प्रयास गरिनुपर्छ भन्ने कुराको म अनुरोध गर्न चाहन्छु ।

– मात्रिकाप्रसाद उपाध्याय

पाठक

Link copied successfully