सिमलको आयु लामो हुन्छ । अहिले डुङ्गाको प्रयोग कम भएको र सलाइ बनाउन पनि वैकल्पिक चिज प्रयोग हुनथालेको छ ।
तर पहिले ती दुवै चिज बनाउन सिमलकै काठ प्रयोग गरिन्थ्यो । अग्ला–अग्ला र ठूलठूला सिमलका रूखमा गिद्धले गुँड बनाउन रुचाउँछ । यसमा फुल्ने ठूलो र आकर्षक फूल भमरा, मौरी र बारुलाहरूले ज्यादै मनपराउने गर्छन् । गिद्ध मांसाहारी भएर पनि हिंस्रक हुँदैन ।
यसले कतै फालिएको सिनो पाए, त्यसलाई खाइदिएर वातावरण स्वच्छ राखिदिन्छ । माहुरीका कारण परागसेचन भई कृषिबाली उत्पादनमा बढोत्तरी हुन्छ । सिमलको फूलबाट निस्कने नरम कपासबाट आरामदायी सिरक, डसना बनाउन सकिन्छ । सिमलको रूखबाट धेरै प्रत्यक्ष/अप्रत्यक्ष फाइदा हुन्छ । यसको महत्त्व बुझेरै होला, हाम्रो देशमा सिमल रोप्नचाहिँं आवश्यकता र उपयुक्तता हेरी सार्वजनिक जग्गामा पनि पाइने तर काट्नचाहिंँ आफ्नै खेतबारीको कान्लाको पनि नपाइने नियम बनाई कसैले सिमल काटेमा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।
रोचक त के भने पहाडी क्षेत्रमा सिमल रोपेको २०/२५ वर्षपछि त्यसको आसपास पानीको मूल फुट्छ भन्ने जनमानसमा प्रचलित विश्वास हो । सिमलमा पानी भण्डारण गर्ने क्षमता अन्य रूखको भन्दा बढी हुने भएकाले यो जनविश्वासमा वैज्ञानिक सत्यता छैन भन्न सकिँंदैन ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
